चीनबाट नेपाल आउने भाइरस बेलायतबाट किन आउँदैन ?

नयाँ प्रजातिको कोरोनाले नेपाल डुबाउने त्रास बढ्दै छ



डा. अनुप बास्तोला, काठमाडौं

बेलायतलगायत विश्वका ३७ मुलुकमा नयाँ खालको भाइरस फैलिएर महामारीको रुप लिइरहेको अवस्थामा नेपालले यसरी छाडा बन्न मिल्दैमिल्दैन । कोरोना भाइरसको गतिमा केही कमी आयो भन्दैमा मास्क फाल्ने, सामाजिक दूरी त्याग्ने, भीडमभीड जुलुस गरेर हिँड्ने !

मैले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुको प्रमुख परामर्शदाता भएर काम गर्दा हासिल गरेको अनुभवले भन्छ, हामी जसरी लापर्बाह भएर हिँडेका छौं, त्यसको परिणाम भयावह हुन सक्छ । हामी कोरोना भाइरसको पहिलो छालबाट तंग्रिने अवस्थामा छौं । तथापि, पूर्ण सुरक्षित भइसकेका छैनौं । अहिले नै हामीले सुरक्षाका सारा मापदण्ड तोड्न थालिसक्यौं । कोरोना भाइरसको नयाँ प्रजाति र सम्भावित दोस्रो छालको चर्चा हुँदै गर्दा हाम्रो यो लापरबाही निकै खतरनाक साबित हुन सक्छ ।

कोभिड–१९ महामारीको शुरुआती दिनजस्तै स्वास्थ्यकर्मी र उनका परिवार नयाँ प्रजातिको कोरोना भाइरसको उच्च जोखिममा रहनेछन् । कोभिड–१९ को संक्रमण संख्या घट्दै जाँदा स्वास्थ्यकर्मीका लागि पीपीईको उपलब्धता कम हुनु र हेलचेक्र्याइँ बढ्नु चिन्ताको विषय हो ।

चीनमा भाइरस देखिँदा नेपालमा आइपुग्दैन भन्ने मानसिकता हावी भएजस्तै अहिले कोरोनाको नयाँ प्रजातिलाई हलुकारूपमा लिनु मूर्खता हुन सक्छ । जबकि, कोरोनाको नयाँ प्रजाति छिमेकी मुलुक भारतसहित ३७ देशमा घुसिसकेको छ । त्यसैले, अबका दिनमा अझ चुस्त निगरानी, पर्याप्त परीक्षण र आइसोलेसनमा जोड दिन आवश्यक छ । किनकि, कोरोना भाइरसको नयाँ प्रजाति झनै संक्रामक देखिएको छ ।

संक्रमणग्रस्त क्षेत्रबाट नेपाल भित्रिने ठाउँमा उच्च सतर्कता, हरेक व्यक्तिको पहिचान, अनिवार्य परीक्षण, क्वारेन्टाइन र आइसोलेसनबिना हामीले कोरोनाको सम्भावित दोस्रो छाललाई रोक्नै सक्दैनौं । सँगसँगै कोरोनाको नयाँ प्रजाति आउँछ कि भनेर रोकथाम गर्न र आइसक्यो कि भनी अनुसन्धान गर्न उत्तिकै जरुरी छ ।

नेपालमा एकचरणको संक्रण घटेको छ र थप संक्रमित हुने क्रम पनि रोकिएको भनेछैन र संक्रमणको जोखिममै छन् । मापदण्डको पालना नगर्ने, भीडभाड गर्ने, राजनीतिक गतिविधिले अझ बढावा पाएको छ । पछिल्लो समय राजनीतिक उतारचढाव, विद्यालय कलेज खोल्नेजस्ता काम गर्दा स्वास्थ्य मापदण्ड पूरा गरेको देखिन्न ।

पछिल्लो समय बेलायतलगायतका मुलुकहरुमा दिनमै ६० हजारको हाराहारीमा नयाँ कोरोना भाइरसका कारण मानिसहरु संक्रमित भएका छन् । बेड छैन, साह्रै नै संक्रामक भाइरस देखिएको छ । विदेशबाट मानिसहरु आइरहेकै छन् ।

विश्व नै कोरोनाविरुद्धको भाइरसप्रति विश्वस्त भइनसकेको अवस्थामा नेपाल र नेपालीले लापरबाहीपूर्ण तरिकाले हिँड्ने, कोरोनाजस्तो महामारी रोगबाट जोगिन अपाउनुपर्ने मापदण्ड नअपनाउने विडम्बनापूर्ण छ । बेलैमा सावधान नहुने हो भने समुदायमा नयाँ तीव्र्र गतिमा फैलिएको भाइरसले नेपालीको स्वास्थ्यका साथै आर्थिक अवस्था धराशयी बनाउनेछ । कोरोनाको अर्को वेभ आउने कुरालाई नकार्न मिल्दैन ।

यतिबेला आम सर्वसाधारणमा कोभिड नै छैन, अब सकियो भन्ने सोच बढेको दखिन्छ । यतिबेला सरकारदेखि आम सर्वसाधारणले मापदण्डको लत्तो पूरै छोडेको देखिन्छ । यसो गर्दा नेपालमा पहिलो कोरोनाको बिरामी देखापरेर तीन महिनासम्म अन्य बिरामी फेला नपर्दासम्म कोरोना आउँदै आउँदैन भन्ने जुन धारणा थियो, अहिले पनि नयाँ भाइरसका विषयमा लगभग त्यस्तै सोच देखिन्छ । यदि कतैबाट नयाँ भाइरस आयो र समुदायमा पुग्यो भने धेरै व्यक्तिहरुलाई संक्रमित बनाउन सक्ने सम्भावना छ ।

नेपालमै भएका व्यक्तिको स्वाब लिएर परीक्षण नगरी बेलायतबाट आएका व्यक्तिको स्वाब लिएर परीक्षण गर्नुको कुनै मतलब नै भएन । नेपालमा अहिलेसम्म देखापरेको भाइरस पुरानै हो या नयाँ खालको छ भन्ने विषयमा अनुसन्धान गर्ने सर्भिलेन्स सिस्टम बढाउनुपर्छ । यदि त्यसो गरिएन भने बिरामीको संख्या घट्दै जाँदा एउटा बिरामी पत्ता लगाउन धेरै स्रोत–साधन खर्च हुन्छ । झन् धेरै परीक्षणको जरुरी हुने बेलामा सबै कुरा छोड्दै–छोड्दै गएका छौं ।

वैज्ञानिक हिसाबले कोरोनाको अवस्था कुन समुदायमा कसरी फैलिएको छ र अब के हुँदै छ भन्ने बारेमा पहिचान गर्न ठूलो संख्यामा परीक्षण गरी अनुसन्धानात्मक खोजतर्फ लाग्नुपर्छ ।

राजनीतिक दलहरुले पनि कोरोना केही होइन अब चुनाव आइहाल्यो भनेर महामारीलाई बेवास्ता गर्नुहुन्न । हाम्रो देशमा के भएको छ भन्ने पहिचान नै नगरी लत्तो छोड्ने हो भने भोलिका दिनमा महामारीले जटिल रुप लिन सक्छ ।

म एउटा स्वास्थ्यकर्मी, त्यसमा पनि झन्डै एक वर्षदेखि नेपालमा पहिलो केसदेखि नै कोरोना संक्रमितलाई नजिकबाट हेरेको व्यक्ति भएकाले यति भनेको हुँ । सबैले मनन गरिदिनुहुने विश्वास लिएको छु। धन्यवाद !
प्रस्तुति ः भगवती तिमल्सिना

प्रतिक्रिया दिनुहोस्