“बहिनी बाँच्न चाहन्छे, सबैले सक्दो सहयोग गरिदिनुस्, बहिनीको जीवन बचाइदिनुस्”



बागलुङ  । 

मिर्गौला रोगबाट ग्रस्त बहिनीको उपचारमा अर्थाभाव भएपछि दाजुले सहयोगको याचना गर्नुभएको छ । निसीखोला गाउँपालिका–१ का भक्तबहादुर पुनले बहिनी सुशीलाको नयाँ जीवनका लागि सहयोगको हात थाप्नुभएको हो ।

“बहिनी बाँच्न चाहन्छे, सबैले सक्दो सहयोग गरिदिनुस्, बहिनीको जीवन बचाइदिनुस्”, बुधबार सदरमुकाममा आयोजित पत्रकार भेटघाटमा पुनले भन्नुभयो । उहाँले ३३ वर्षीय बहिनीको भविष्यलाई लिएर आफ्नो परिवार चिन्तामा परेको बताउनुभयो ।डेढ वर्षअघि रोग पहिचान भएपछि बहिनीको उपचारका लागि पाल्पा, भैरहवा हुँदै पोखरासम्मका अस्पतालमा धाएको पुनले सुनाउनुभयो । सुशीलाको अहिले पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

शुरुमा पाल्पाको मिसन अस्पतालमा १२ दिनसम्म राखेपछि चिकित्सकले भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्समा रिफर गरेका थिए । पछि भैरहवामा पनि उपचार सम्भव नभएपछि पोखरा लगिएको पुनले बताउनुभयो । त्यतिञ्जेलसम्म उपचारमा सवा दुई लाख जति खर्च भइसकेको थियो ।पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार थालेको पनि झण्डै एक वर्ष हुन थालेको छ । गत वर्ष फागुनयता मिर्गौलाको नियमित डायलासिस भइरहेको छ । दुवै मिर्गौलाले काम नगरेपछि पेरिटोनियल विधिबाट दैनिक तीन पटक डायलासिस गर्नुपर्छ । डायलासिससहित उपचार र हेरचाहमा अहिले मासिक रु ३० हजार खर्च भइरहेको छ ।

“आठ लाखभन्दा बढी खर्च भइसक्यो, उपचार धान्नै नसक्ने अवस्था भयो, सामान्य खेतीकिसानी गरेर खाने परिवारलाई गाह्रो हुँदोरहेछ”, पुनले भन्नुभयो । उहाँले डायलासिसका लागि सरकारले दिने छुटबाहेक पनि उपचारमा धेरै खर्च भइरहेको बताउनुभयो । डायलासिस सेवा निःशुल्क दिने सरकारको नीति छ ।

मिर्गौलासम्बन्धी रोगमा लामो समयसम्म उपचार गर्नुपर्ने र महँगो पनि पर्ने हुँदा परिवारलाई अफ्ठेरो स्थिति आइलागेको पुनको भनाइ छ । सोचे जसरी सहायता जुटेमा सुशीलाको मिर्गौला प्रत्यारोपण गर्ने योजनामा पुन परिवार छ । प्रत्यारोपण नगरेमा भने जीवनभर डायलासिस गर्नुपर्ने हुन्छ । ‘सुशीला पुन उपचार सहयोग समिति’मार्फत आर्थिक संकलन अभियान थालिएको बागलुङ नगरपालिका–९ का वडाध्यक्ष एवं मगर संघ बागलुङका अध्यक्ष गणेश थापाले बताउनुभयो ।
उहाँले विपन्न व्यक्तिको उपचारमा स्वतःस्फूर्त सहयोग जुट्नेमा विश्वास व्यक्त गर्नुभयो । पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषले स्थानीय तहदेखि राज्यका निकायबाट पनि सहयोग जुटाउन पहल गर्नुपर्ने बताउनुभयो । सत्र वर्षको उमेरमा विवाह गरेर डेढ वर्ष नहुँदै श्रीमान्सँग अलग्गिनुभएकी सुशीला अहिले माइतीकै संरक्षणमा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्