धादिङमा एकीकरण पदयात्रा, पुष २७ मा सिंहदरबार आउने



धादिङ ।

नेपाल एकीकरणका बेला पृथ्वीनारायण शाह र गोरखाली फौज हिँडेको बाटो हुँदै नेपाली सेनाले शुरु गरेको ‘एकीकरण पदयात्रा’ आज धादिङ आएको छ । गोरखाबाट हिँडेको रणसिंह दल गणले गोरखा दरबारबाट ल्याइएको दीप र झण्डा बोर्लाङ्घाटमा आएर धादिङस्थित नेपाली सेनाको देवीदत्त गणलाई हस्तान्तरण गरेको थियो ।

बोर्लाङबाट आज हिँडेको सेनाको टोली बुङ्कोटघाटबाट कछारगाउँ, सल्यानटारको कोषढुङ्गा, रानीपौवा, कालोढुङ्गा, खहरे, चरङ्गे पौवा, चरङ्गेमा आएर बसेको छ । पदयात्रा देवीदत्त गणका प्रमुख सेनानी दिनेश कार्कीले नेतृत्व गर्नु भएको थियो । चरङ्गेस्थित शान्तिकालिका आधारभूत विद्यालयमा आएपछि गाउँबासी र जनप्रतिनिधिको टोलीले स्वागत गरेको थियो ।

त्रिपुरासुन्दरी गाउँपालिकाका प्रमुख शम्भु थापा र नेत्रावती डबजोङमा गाउँपालिकाका प्रमुख दुर्गाकुमार शाक्यले सेनाको टोलीलाई स्वागत गर्नु भएको थियो। पदयात्राको टोलीले बिहीबार कटुञ्जे, पन्ध्रकोषे, थर्पु हुँदै भ¥याङभुरुङसम्मको यात्रा गरी नुवाकोटमा रहेको जबरजङ्ग गणलाई हस्तान्तरण गर्नेछ ।

दीप र झण्डासहित काठमाडौंको पल्टन यही पुष २७ गते पृथ्वीजयन्तीका दिन सिंहदरबार अगाडि हुने कार्यक्रममा सहभागी हुने बताइएको छ । गोरखा, धादिङ, नुवाकोट हुँदै काठमाडौंसम्म उक्त पदमार्गको दूरी २६ कोस छ । पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट र विसं १८२५ मा काठमाडौं राज्य जित्नु भउको थियो ।

त्यस क्रममा उनी दर्जनौँ पटक गोरखादेखि नुवाकोट हुँदै काठमाडौंसम्म ओहोरदोहोर गरेको इतिहास छ । पदमार्ग, कोट, गण र किल्लाहरु सवर्द्धन, संरक्षण तथा प्रवर्द्धन गर्ने नेपाली सेनाको विशेष कार्यक्रमअन्तर्गत पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुग्ने उद्देश्यले पदयात्रा शुरु गरिएको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्