बन्यजन्तु पीडित ७१ कृषकलाई राहत



मोतीराम तिमल्सिना, काभ्रे ।

डिभिजन वन कार्यालय काभ्रेपलाञ्चोकले मानव बन्यजन्तु द्वन्द्वका पीडितहरुलाई राहत वितरण गरेको छ । ७१ जना कृषकहरुले बन्यजन्तुबाट क्षति पु-याए बापतको राहत बुझेका छन् । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, डिभिजन बन अधिकृत देविचन्द्र पोखरेलले पीडित ब्यक्तिहरुलाई बन्यजन्तुले क्षति पु-याएको राहत वितरण गर्नु भएको थियो ।

‘बन्यजन्तुबाट नागरिकहरुले पाएको पीडा कम गराउँदै बन्यजन्तुलाई मानवबाट पनि बचाउन र मानवहरुले उत्पादन गरेको अन्नबाली तथा पशुपक्षिलाई क्षति पु¥याउन नदिन पहल भईरहेको छ’–डिभिजन बन अधिकृत देविचन्द्र पोखरेलले भन्नुभयो–‘बन्यजन्तु र मानव बीचको द्वन्द्ध कम गराउन कृषक र तथा सरोकारवाला निकायले पहल गरिरहेका छौं ।’

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले ४४ प्रतिशत बन क्षेत्र भएको नेपालमा पछिल्लो समय बन्यजन्तुको बृद्धी भएको र मानवजातीहरु शहरोन्मुख हुँदै गएकाले बन्यजन्तर र मानव बीचको द्वन्द्व बढ्दै गएको बताउनु भयो । मान्छे र बन्यजन्तु बीचको सौहार्दता कायम राख्दै दुबै सुरक्षित रहन जरुरी रहेको प्रजिअ पोखरेलले बताउनु भयो । जिल्लाका अन्य पीडित कृषकहरुलाई पनि सरकारले राहत उपलब्ध गराएको र गराउनु विषयमा जानकारी गराउन उहाँले अनुरोध गर्नु भयो ।

कृषक दिपक अधिकारीले क्षतिपुर्तिका लागि सरकारले वितरण गरेको राहतले कृषकहरुको घाउमा मल्हम पट्टि लगाएको भए पनि बैकल्पिक खेतिका बारेमा कृषकहरुलाई जानकारी गराउनु पर्ने बताउनु भयो । राहतका लागि मात्रै सहज नहुँदै बताउँदै बन्यजन्तु नियन्त्रण र संरक्षणमा जोड दिन उहाँले अनुरोध गर्नु भयो । कृषक गंगाप्रसाद तिमल्सिनाले राहतका लागि प्रकृया झण्झटिलो भए पनि असाध्यै सहनिय कार्य भएको बताउनु भयो । बेथान्चोक ४ घर भएका ८० बर्षिय अर्जुन खत्रीले १० हजार राहत प्राप्त हुँदा खुशी लागेको बताउनु भयो ।

सहायक वन अधिकृत न्हुच्छेकृष्ण श्रेष्ठले गत वर्ष देखि वन्यजन्तुले क्षति पु-याएको राहत उपलब्ध गराउन शुरु गरिएको बताउनु भयो । अघिल्लो वर्ष शुरु गरिएको राहत यो वर्ष ७१ जना कृषकहरुलाई उपलब्ध गराईएको श्रेष्ठले बताउनु भयो । २०७६ फागुन २९ देखि २०७७ असोज २३ गतेसम्म वन्यजन्तुले पशुपक्षि र अन्नबाली नष्ट गरेका कृषकहरुले राहत प्राप्त गरेका हुन् ।

७ लाख १६ हजार २ सय रुपैया ७१ जना कृषकहरुले प्राप्त गरेको डिभिजन बन अधिकृत देविचन्द्र पोखरेलले बताउनु भयो । २०७७ कार्तिक २१ पछि ४५ जना कृषकहरुको ४ लाख ६८ हजार क्षति भएको रकम भुक्तानी गर्न बाँकी छ । बन्यजन्तुले घाईते बनाए, ब्यक्तिको मृत्यु भएको अवस्थामा पनि क्षतिपुर्ति र उपचार खर्च उपलब्ध गराउँदै आएको छ ।

सहायक वन अधिकृत गौरव भट्टले मानव र बन्यजन्तु बीचको द्वन्द्ध कम गराउन नीतिमै परिवर्तन गर्नु पर्ने सुझाव प्राप्त भएको बताउनु भयो । काभ्रेमा २०६६/२०६७ देखि २०७६ माघ २६ गतेसम्म १३ जनाले बन्यजन्तुका कारण ज्यान गुमाएका छन् भने घाईते ७ जना भएका छन् । खसीबोका ६६ वटा, कुखुरा १ सय ४० वटा, बाक्षी १ वटा, बंगुर ५ वटा र बाली १० जनाको क्षति भएको राहत प्राप्त भईसकेको छ ।

धेरै कृषकहरुले राहतको जानकारी नपाएकै कारण स्थानीय तहबाट डिभिजन बन कार्यालयसम्म आउन भ्याएका छैनन । जिल्लामा बन्यजन्तुसँग सम्वन्धित १५ वटा मुद्दा दर्ता भएका छन् । जसमा ४४ जना प्रतिवादी रहेका छन् । अपराधमा वरामदी वन्यजन्तु, अखेटोपहार मृग, चितुवाको छाला, हुचिल, सालकको खपटा, मृगको छाला, ध्वाँसे चितुवाको छाला, चितुवाको हड्डी, मृतक तथा जिवीत बंडेल, ुकछुवाको वच्चा समेत रहेको डिभिजन बन अधिकृत पोखरेलले बताउनु भयो ।

उक्त मुद्दाहरुबाट दण्ड जरिवाना २ लाख २८ हजार ५ सय दाखिला भएको छ । गत आर्थिक वर्षका फैसला हुन बाँकी तीनवटा मुद्दा रहेका छन् ।डिभिजन बन कार्यालय मार्फत ११ पटकमा चितुवाको वच्चा ५ वटा, घाइते/विरामी /मृतक चितुवा ६ वटा, चरीबाघ १ वटा र सकुसल/घाइते मृग २ वटाको उद्दार गरिएको सहायक बन अधिकृत न्हुच्छेकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्