नेकपा फूटको असर पर्सामा : पुराना माधव प्रचण्डमा, खर्चिला कार्यकर्तालाई समेत समेट्न सक्ने ओली समूहमा



कृष्णउदास खनाल, वीरगन्ज ।

नेकपा फुटपछिको असर पर्सा जिल्लामा समेत देखा परेको छ । जिल्लामा कम्युनिष्ट पार्टीलाई स्थापित गराउने पुराना नेताहरू चिरन्जीवी आचार्य, रामाश्रय राम, बालगोपाल थापा, नागेन्द्र चौधरी, रामचन्द्र साह, उर्मिला अर्याल, पिएल श्रेष्ठ, विजय महतो, छोटेलाल यादव र रहबर अन्सासी जस्ता नेता प्रचण्ड–माधव समूहमा रहेको नेताहरुले बताएका छन् ।

नेताहरुका अनुसार खर्चिला कार्यकर्तालाई समेत समेट्न सक्ने राजकुमार गुप्ता, बसुरुद्दिन अन्सारी, विचारले समेट्न सक्ने डा.विश्वम्भर शर्मा, संविधान सभाका सदस्य जयप्रकाश थारू, प्रद्युम्न चौहान, महिला नेतृ निर्मला देवकोटा र संगोलका पार्टी जिल्ला अध्यक्षसमेत रहेका प्रभु हजारा पनि ओली समूहमा रहेको पाइएको छ ।

१६५ जना जिल्ला सदस्य रहेको पर्सामा बसेको ओली समूहको जिल्ला कमिटी बैठकमा १ सय २ जना सहभागी भई हस्ताक्षर गरेको सो समूहको दाबी छ। साविकको नेकपाको पर्सा अध्यक्ष तथा ओली समूहका पनि हालका पर्सा अध्यक्ष तथा केन्द्रीय सदस्य प्रभु हजाराले बहुमत सदस्य अर्थात १ सय २ जना जिल्ला सदस्य आफूहरूसँगै रहेका दाबी गर्नुभएको छ ।

उहाँले जिल्लाका १४ पालिकाका अध्यक्ष तथा सचिवमध्ये अधिकांश मुलधारको नेकपा ओली समूहमा नै रहेको अध्यक्ष हजाराको दाबी छ। यद्यपी प्रचण्ड माधव समूहका नेता बालगोपाल थापाले भने बहुमत आफूहरुसंग पनिरहेको दाबी गर्नुभयो । उहाँले सबै कुरा खोल्न आवश्यक नभएपनि ९७ जना जिल्ला सदस्य आफूहरुसंग रहेको दाबी गर्नुभयो ।

पर्सामा रहेका १४ वटा स्थानीय तहमा नेकपाबाट निर्वाचित जनप्रतिनिधिहरुलाई समेत अहिले दुई समूहले आपसमा तानातान गरिरहेको बुझिएको छ यद्यपी अधिकांश जनप्रतिनिधिहरु खुलेका कारण नखुलेका केहीलाई आफ्नोमा तान्न उनीहरु कृयाशिल रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्