तीन दलको निष्कर्ष : प्रतिनिधिसभा विघटन भएको छैन

लोकतन्त्रमाथि छुरा प्रहार : पौडेल



नेपाल समाचारपत्र, काठमाडौं

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत प्रमुख तीन दलले प्रतिनिधिसभा विघटन नभएको निष्कर्ष निकालेका छन् । संविधानमा नै नभएको अधिकार प्रयोग गरेर गरिएको संसद् विघटन असंवैधानिक भएको निष्कर्ष निकाल्दै नेकपा प्रचण्ड–नेपाल समूह, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले थप घोषित आन्दोलनलाई सशक्त बनाएर लैजाने बताएका छन् ।

प्रतिनिधिसभा विघटन भएलगत्तै संयुक्त गठबन्धन बनाएर सरकारविरुद्ध आन्दोलन गर्ने भनिए पनि तीन दलले छुट्टाछुट्टै आन्दोलनको घोषणा गरेका हुन् । प्रचण्ड–नेपाल समूहले केन्द्रदेखि वडा तहसम्म विरोधको कार्यक्रम घोषणा गरेको छ । त्यसै गरी कांग्रेसले पनि देशव्यापीरुपमा वडा तहसम्मको विरोधको कार्यक्रम सार्वजनिक गरेको छ । जनता समाजवादी पार्टीले पनि प्रतिनिधिसभा विघटन गर्ने सरकारको असंवैधानिक कदमविरुद्ध आन्दोलन गर्दै आएको छ ।

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको घाँटी अठ्याएर हत्या गर्ने प्रयास गरिरहेको बताउनुभएको छ । जनता समाजवादी पार्टीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पूर्वप्रधानमन्त्री नेपालले बहुमत प्राप्त प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार संविधानमा कहींकतै पनि नभएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आफूलाई पार्टीभित्रबाटै काम गर्न दिइएन भनेर संसद् विघटन गर्न बाध्य भएँ भन्ने तर्क गलत भएको बताउँदै उहाँले आफूले प्रस्ताव गरेको प्रधानमन्त्री घाँडो हुन पुगेको बताउनुभयो । ‘जनताको समस्यालाई बेवास्ता गरेर भ्रष्टाचार मौलाउने काममा भूमिका खेल्दा, लोकतान्त्रिक मूल्यमान्यता कुल्चिएर चल्दा पार्टीभित्रबाट विरोध भएकै हो।’ –अध्यक्ष नेपालले भन्नुभयो । उहाँले संविधानअनुसार संसद् विघटन हुन नसक्ने बताउनुभयो ।

उक्त कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटनको डटेर विरोध गर्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीबाट संसद् विघटन गरेर लोकतन्त्रमाथि छुरा प्रहार गर्ने र संविधान रछ्यानमा मिल्काउने दुष्प्रयास भएको बताउनुभयो ।

नेता पौडेलले न्यायमूर्तिहरूलाई राष्ट्रप्रतिको विवेक लगाउनुपर्ने आग्रह गर्नुभयो । ‘अब आशाको केन्द्र सर्वोच्च अदालत हो । राष्ट्रपतिले आँखा चिम्लेर सही गरिदिनुभयो, यो प्रतिनिधिसभा संवैधानिक आधारविना नै विघटन गर्नुभयो । यो प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्छ।’ –उहाँले भन्नुभयो । नेता पौडेलले संविधानको धारा ७६ को १ अनुसार बनेको प्रधानमन्त्रीले संसद् विघटन गर्न नपाउने बताउनुभयो ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संसद् जीवित रहेको बताउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भएकाले संसद् जीवित रहेको यादवको भनाइ छ । कार्यक्रममा उहाँले भन्नुभयो– ‘असंवैधानिक तरिकाले संसद् विघटन हुँदैन, प्रतिनिधिसभा जिउँदै छ ।’

 

प्रतिक्रिया दिनुहोस्