पत्रकार महासंघलाई प्रोजेक्टर र नगद हस्तान्तरण



बागलुङ ।

पत्रकार महासंघ बागलुङ शाखालाई दुई प्रवासी नेपालीबाट प्रोजेक्टर र नगद सहयोग प्राप्त भएको छ । अन्तर्राष्ट्रिय बागलुङ समाजका महासचिव देव पौडेलले प्रोजेक्टर र बागलुङ समाज बेल्जियमका अध्यक्ष राजु थापाले नगद रु। २० हजार मंगलबार शाखा अध्यक्ष दिल शिरीषलाई हस्तान्तरण गर्नुभएको हो ।

शाखाको नवनिर्मित भवनमा बनिरहेको तालिमकक्षका लागि पौडेलले प्राजेक्टर र फर्निचर व्यवस्थापनका लागि थापाले नगद सहयोग गर्नुभएको अध्यक्ष शिरीषले बताउनुभयो । महासंघको संस्थागत क्षमता विकासलगायतमा समाजमार्फत आगामी दिनमा पनि सहयोग र सहकार्यलाई अघि बढाइने महासचिव पौडेलले बताउनुभयो ।

बागलुङ समाज बेल्जियमका अध्यक्ष थापाले समाजको नीतिअनुसार महासंघलाई आर्थिक सहायता दिन नमिल्ने भएकाले आफूले व्यक्तिगतरूपमा सहयोग गरेको उल्लेख गर्नुभयो । समाजले शिक्षा र स्वास्थ्यका क्षेत्रमा सहयोग गर्दै आएको छ । शाखा अध्यक्ष शिरीषले स्वतःस्फूर्त प्राप्त भएको सहयोगले महासंघप्रतिको सबै अपनत्व र सद्भावलाई झल्काएको बताउनुभयो ।

भवन निर्माणदेखि महासंघका हरेक क्रियाकलापमा समुदायबाट सहयोग र समर्थन जुटेको उहाँको भनाइ छ । हालै निर्माण सम्पन्न भई उद्घाटन गरिएको महासंघको तीनतले सुविधासम्पन्न भवन पनि बृहत् सहयोग अभियानबाट सङ्कलित बजेटबाट बनेको हो । रु एक करोडभन्दा बढीको लागतमा बनेको भवनका लागि जनसाधारणदेखि राज्यका निकायको आर्थिक सहयोग छ । आइतबार मात्रै प्रभु बैक सँगको सहकार्यमा महासंघले आधुनिक सूचना केन्द्र सञ्चालनमा ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्