एमिकस क्युरीमा महिला सिफारिस



काठमाडौं ।

सर्वोच्च अदालत बार एसोसिएसनले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइका लागि अदालतको आदेशानुसार समावेशी बनाउने उद्देश्यले अदालतका सहयोगीमा वरिष्ठ अधिवक्ता गीता पाठकको नाम सिफारिस गरेको छ ।

सर्वोच्च अदालत बारको सोमबार बसेको कार्यसमितिको बैठकले वरिष्ठ अधिवक्ता पाठकको नाम सिफारिस गरेको बारका उपाध्यक्ष राजु खड्काले जानकारी दिनुभयो । सर्वोच्च बारले यसअघि शुक्रबार बैठक बसेर बारका बहालवाला अध्यक्ष वरिष्ठ अधिवक्ता खगेन्द्रप्रसाद अधिकारी र हालै निर्वाचित अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यको नाम सिफारिस गरेको थियो ।

बारका अध्यक्ष अधिकारी कोरोना संक्रमणको आशंका भई आइसोलेसनमा रहनुभएकाले पाठकको नाम सिफारिस गरिएको हो ।सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालत बारबाट दुई वरिष्ठ अधिवक्ता वा अधिवक्ता एमिकस क्युरीका लागि झिकाउने आदेश जारी गरेको थियो ।

पाठकले प्रतिनिधिसभा विघटन मुद्दाका लागि एमिकस क्युरीमा पहिलो महिला बन्ने सौभाग्य पाउनुहुनेछ । नेपाल बार एसोसिएसनले भने एमिकस क्युरीमा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतीशकृष्ण खरेल र विजयकान्त मैनालीको नाम बिहीबार सिफारिस गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्