पेलेपछि सर्वाधिक धेरै गोल गर्ने खेलाडी बने रोनाल्डो



काठमाडौं ।

इटालियन क्लब युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोले ब्राजिलियन लिजेन्ड पेलेको कीर्तिमान भङ्ग गरेका छन् । आइतबार राति उडिनेसविरुद्ध दुई गोल गरेका पोर्चुगिज स्टार रोनाल्डो पेलेको रेकर्ड तोड्दै फुटबल इतिहासमा सर्वाधिक धेरै गोल गर्ने दोस्रो खेलाडी बनेका हुन् ।

युभेन्टसले गए राति सन् २०२१ को पहिलो खेलमा शानदार जित निकालेको थियो । सिरी ‘ए’अन्तर्गत साविक विजेता युभेन्टसले उडिनेसमाथि ४–१ गोलको जित निकालेको हो ।युभेन्टसको मैदानमा घरेलु टोलीलाई जिताउन रोनाल्डोले दुई गोल गरे भने फेडेरिको चिसा र पाउलो डेबालाले एक–एक गोल गरे । रोनाल्डोले दुई गोलसँगै करिअरकै गोल सङ्ख्या ७ सय ५८ पुर्‍याए । उनले सात सय ५७ गोल गरेका पेलेको कीर्तिमान भङ्ग गरे । पेले सन् १९५६ देखि १९७७ सम्म खेल्दा सात सय ५७ गोल गरेर दोस्रो सर्वाधिक गोलकर्ता बनेका थिए ।

यता, सन् २००२ मा स्पोर्टिङ लिस्बोनबाट खेल्न थालेका रोनाल्डोले चार सय ३१ खेल खेल्दा छ सय ५८ गोल गरेका हुन् । ३५ वर्षीय रोनाल्डोले स्पेनमा छँदा चार सय ३८ खेल खेल्दा चार सय ५० गोल गरेका थिए ।यस्तै रोनाल्डोले पोर्चुगलका लागि एक सय २० खेल खेल्दा एक सय दुई गोल गरेका छन् । त्यसबाहेक रोनाल्डोले म्यानचेस्टर युनाइटेडबाट एक सय १८ र स्पोर्टिङ सिपीबाट पाँच गोल गरेका छन् ।

फुटबल इतिहासमा सबैभन्दा धेरै गोल गर्ने चेक रिपब्लिकका जोसेफ बिस्क्यान हुन् । उनले सात सय ५९ गोल गरेका छन् । बिस्क्यानले सन् १९३१ देसख १९५५ सम्म खेलेका थिए ।हालै मात्र बार्सिलोनाका कप्तान लियोनल मेस्सीले पेलेको एउटै क्लबबाट सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान भङ्ग गरेका थिए । उनले बार्सिलोनाका लागि छ सय ४४ गोल गर्दै पेलेले सान्टोसमा रहँदा बनाएको छ सय ४३ गोलको कीर्तमान तोडेका थिए ।

प्रतिक्रिया दिनुहोस्