प्रदेशलाई जिवन्त र जनमुखी बनाउन मिडियाको भूमिका महत्वपूर्ण : उपसभामुख थारु



यमलाल भुसाल, बुटवल ।

लुम्बिनी प्रदेश सभाका उपसभामुख कृष्णी थारुले प्रदेशलाई जिवन्त र जनमुखी वनाउन मिडियाको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ । उहांले प्रदेश सभा सदस्य, प्रदेशका नागरिक समाज, बुद्धि जिवी र सरकार सवैले प्रदेशलाई जिवन्त र जनमुखी बनाउन प्रतिवद्ध हुनु पर्ने धारणा राख्नु भयो ।

क्रियाशिल पत्रकार महिला रुपन्देहीले सोमवार बुटवलमा आयोजना गरेको संघर्षशील पत्रकार महिला सम्मान कार्यक्रममा वोल्दै उपसभामुख थारुले मिडियाले गलत विषवस्तुलाई गहिराहीमा पुगेर सार्वजनिक गर्न माग गर्नु भयो । घर देखि सरकारसम्मको व्यवस्थापनका लागि सीपको जरुरी हुने भएकाले महिलालाई आत्म निर्भर बनाउन सीप सिकाउन जरुरी रहेको उहांले औल्याउनु भयो ।

उपसभामुख थारुले मिडिया क्षेत्र सेवामुलक भएकाले र संभावनासंगै चुनौती पनि उत्तिकै रहेकाले महिला सहभागितामा कमी भएको धारण राख्नु भयो । बुटवल उपमहानगरपालिकाका उप प्रमुख गुमादेवी आचार्यले विभेद रहित समाज निमार्ण गर्न जरुरी रहेको बताउदै नगरपालिकाले महिलापत्रकारका लागि कानुनी साक्षरता सम्बन्धी प्रशिक्षण संचालन गर्ने गरि कार्ययोजना अगाडी सारेको धारणा राख्नु भयो ।

पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष भरत केसीले कोभिडको माहामारीमा अग्रभागमा खटिने सुरक्षाकमी र स्वास्थ्यकर्मीलाई सरह मिडियाकमीलाई पनि अतिरीक्त सेवासुविधा उपलब्ध गराउन माग गर्नु भयो । मुख्य मन्त्रीका प्रेस सल्लाहकार शेर बहादुर केसीले पत्रकारितामा सुद्धिकरण जरुरी रहेको भन्दै त्यसको शुरुवात पत्रकार महासंघवाट गर्न माग गर्नु भयो ।

संघर्षशील पत्रकार महिला २०७४बाट माया गौतम र २०७६बाट दूर्गा पौडेललाई सम्मान गरिएको थियो । क्रियाशिल पत्रकार महिला रुपन्देहीकी अध्यक्ष कल्पना तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा सम्मानित महिला पत्रकार गौतम र पौडेल, पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्षद्धय निरु गौतम , दिनेश पाण्डे, प्रेस स्वतन्त्ररता सेनानी अर्जुन ज्ञवाली, प्रेस युनियन रुपन्देहीकी सभापति रेखा भुसाल, संस्थापक अध्यक्ष भगवती पाण्डे ,विन्दु भटृराई र किसमती चौधरी लगायतले कोभिडको नाममा महिला पत्रकार पीडित भएको गुनासो गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्