अढाई लाख पर्यटकद्वारा नेपाल भ्रमण



काठमाडौं, (नेस)
कोभिड–१९ का कारण पर्यटन क्षेत्रमा गम्भीर असर परेको बाबजुत सन् २०२० मा नेपालमा अढाई लाख विदेशी पर्यटकले भ्रमण गरेका छन् ।

सरकारले पूर्वघोषित सन् २०२० भ्रमण वर्षलाई बीचमा नै रद्द गरे पनि यस वर्ष कुल २ लाख ३० हजार ८५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।

यद्यपि, अघिल्लो वर्षको तुलनामा ८० प्रतिशत पर्यटक घटेका छन् । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

अध्यागमन विभागको तथ्यांकअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थबाट १ लाख ८३ हजार १३० तथा स्थलमार्ग हुँदै ४६ हजार ९५५ जना पर्यटक नेपाल आएका छन् ।

नेपाल भ्रमण गर्ने विदेशी पर्यटकमा सबैभन्दा बढी भारतीय रहेका छन् । भारतबाट २५ हजार ३२० पर्यटक नेपाल आएका छन् ।

त्यस्तै चीनबाट ९ हजार ८०८ जना, अमेरिकाबाट ९ हजार ६८२ जना, थाइल्यान्डबाट ९ हजार ५१८ जना र म्यान्मारबाट ९ हजार ४०० जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । कोभिड–१९ का कारण करिब छ महिना नियमित अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध भएको थियो ।

प्रतिक्रिया दिनुहोस्