ललितपुर उद्योग वाणिज्य संघमा न्याछ्यों विजयी



ललितपुर ।

ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा मनोजबहादुर न्याछ्यों निर्वाचित हुनुभएको छ । शनिबार राति घोषणा गरिएको मत परिणामअनुसार अध्यक्षमा न्याछ्योसहित उहाँकै प्यानलका अधिकांश पदाधिकारीहरु विजयी हुनुभएको छ । संघको ४१औं वार्षिक साधारण सभाको उद्घाटन र बन्द सत्र शुक्रबार र शनिबार मतदान भएको थियो ।

मतदानमा अध्यक्षका लागि न्याछ्यों र भरतलाल जोशीबीच प्रतिस्पर्धा भएको थियो । निर्वाचनले आगामी तीन वर्षका लागि न्याछ्योंलाई अध्यक्षमा चयन गरिएको हो । यस अघिको कार्यकालमा न्याछ्यो महासचिव हुनुहुन्थ्यो ।त्यसैगरी वरिष्ठ उपाध्यक्ष विश्वराज बज्राचार्य, उपाध्यक्ष उद्योगतर्फ सुसन महर्जन, उपाध्यक्ष वाणिज्यतर्फ जोशी प्यानलका उसन बज्राचार्य निर्वाचित हुनुभएको छ । संस्थागत उपाध्यक्षतर्फ वीरेन्द्रलाल श्रेष्ठ, महासचिवमा रुपकमान महर्जन र कोषाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिनुभएका भूमिनन्दन कमाचार्य निर्वाचित हुनुभएको छ ।त्यसैगरी सदस्यहरुमा उद्योगतर्फ राजु महर्जन, सजना श्रेष्ठ, रमेशसिं महर्जन, आपूलाल अवाले, मिलन महर्जन र गुणकेशरी ताम्रकार निर्वाचित हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा वाणिज्यतर्फ जोशी प्यानलका रुपेन्द्रराज शाक्य र विमला शाक्य, शर्मिला श्रेष्ठ जोशी, सुजन बज्राचार्य, महेश श्रेष्ठ, राजेशराज बज्राचार्य र मुकुन्द महर्जन निर्वाचित हुनुभएको छ । त्यस्तै एसोसिएट क्षेत्रबाट सदस्यमा पूर्णबहादुर महर्जन र संस्थागततर्फ नवीनमान श्रेष्ठ निर्विरोध हुनुभएको छ । निर्वाचित भएपछि सञ्चारकमीहरुसंग कुराकानी गर्दै अध्यक्ष न्याछ्योंले उपभोक्ता व्यवसायीको हकहितका लागि सार्वजनिक गरेको १९ बुँदे प्रतिबद्धताअनुसार अघि बढ्ने बताउनुभयो । ‘यही प्रतिबद्धतालाई केन्द्रबिन्दुमा राखेर कार्ययोजना बनाउने छौं । सबैको सहभागिता कार्ययोजना बनेपछि त्यसैमा टेकर अघि बढ्ने छु । ’ उहाँले भन्नुभयो ।

निर्वाचनको क्रममा सार्वजनिक गर्नुभएको प्रतिबद्धता पत्रमा उपभोक्ता हित संरक्षण ऐन २०७५ को न्योयोचित संशोधनका लागि पैरवी गर्ने, हस्तकला नगरी ललितपुरमा उत्पादन भएका सामग्रीको छुट्टै टे«डमार्कमा दर्ता गर्नुपर्ने व्यवस्था मिलाउन पहल गर्ने, हस्तकला ग्रामको अवधारणालाई मूर्त रुप दिन पहल गर्ने, दक्षिण ललितपुर भेगमा कृषि क्षेत्रको विकास गर्ने भनिएको छ । त्यसैगरी लगानीको लागि व्यावसायिक वातावरण तयार गर्ने, राज्यबाट सिर्जित विभिन्न समस्या हल गर्न सम्बन्धित निकायमा पहल गर्ने, व्यवसायी सचेतना अभियान चलाउने, व्यवसायीहरुको लागि हेल्पडेस्क स्थापना गर्ने, कोरोनाबाट मार परेको अर्थतन्त्र उकास्ने पहल गर्ने विषयमा पनि प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्