इंग्लिस प्रिमियर लिगमा आर्सनलको सहज जित



एजेन्सी ।

इंग्लिस प्रिमियर लिगमा आर्सनलले सहज जित आत्मसात् गरेको छ ।  आर्सनलले नयाँ वर्ष २०२१ को पहिलो खेलमा वेस्ट ब्रुमविरुद्ध ४–० गोल अन्तरको फराकिलो जित निकालेको हो ।

प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको लिगको १७औं खेलमा आर्सनलले खराब स्थिति सुधार गर्दै लिगमा लगातार तेस्रो जित निकाल्यो । आर्सनलले यसअघिका दुई खेलमा पनि स्पष्ट जित निकालेको थियो । पछिल्ला तीन खेल जित्नुअघि आर्सनल लिगका सात खेलसम्म जितविहीन रहेको थियो । तर, अब लगातार तीन जितले आर्सनललाई लयमा उभ्याएको छ । आर्सनलको जितमा एलेक्सान्ड्रे लाकाजेटले दुई गोल योगदान गरे । पहिलो गोल खेलको २३औं मिनेटमा कियरान टिर्नेले गरेका थिए ।

त्यसपछि बुकायो शाकाले गोल गरेपछि आर्सनल पहिलो हाफसम्म दुई गोलले अघि रह्यो । दोस्रो हाफमा लाकाजेटले ५ मिनेटको बीचमा दुई गोल गरेपछि आर्सनल सहज जिततर्फ अघि बढेको थियो । उनले पहिलो गोल ६०औं मिनेटमा गरे भने दोस्रो गोल ६४औं मिनेटमा गरेका थिए । यो जितपछि आर्सनलको १७ खेलबाट २३ अंक पुगेको छ । यता, पराजित वेस्ट ब्रुमको भने १७ खेलपछि ८ अंक मात्रै रहेको छ ।त्यस्तै, शनिबारै भएका अन्य खेलमा क्रिस्टल प्यालेसले शेफिल्ड युनाइटेडलाई २–० ले हराउ“दा ब्राइटन र उल्भ्सले ३–३ गोलको बराबरी खेल्दै समान अंक बाँडे ।

प्रतिक्रिया दिनुहोस्