प्रधानमन्त्री कप महिला क्रिकेट,प्रदेश १ लाई उपाधि



काठमाडौं ।

दाङको लमहीमा भएको ‘प्रधानमन्त्री कप राष्ट्रिय महिला टी २० क्रिकेट प्रतियोगिता’को उपाधि प्रदेश १ ले जितेको छ । आइतबार भएको फाइनल खेलमा प्रदेश १ ले उपाधिकै दाबेदार र डिफेन्डिङ च्याम्पियन नेपाल एपीएफ क्लबलाई ६ रनले हराएको हो । उपाधिसँगै प्रदेश १ ले नगद ५ लाख प्राप्त गर्दा उपविजेता बनेको विभागीय टिम एपीएफले ३ लाख नगदमा हासिल ग¥यो । यो प्रदेश १ को ऐतिहासिक उपाधि हो । यसअघि विभागीय टिमकै वर्चश्व रहेको क्रिकेटमा प्रदेशीय टिमले सानदार प्रदर्शन गरेर उपाधि जितेको छ ।

प्रदेश १ ले मात्र १ सय ६ रनको लक्ष्य दिएको तर सामान्य देखिएको लक्ष्य पछ्याएको एपीएफले ७ विकेटको क्षतिमा ९९ रन मात्रै बनाउन सक्यो । एपीएफ जितको लागि नै अग्रसर रहेको थियो । ममता चौधरी र करुणा भण्डारीले राम्रो ब्याटिङ गरिरहेका थिए । उनीहरूको उत्कृष्ट ब्याटिङले गर्दा एपीएफले आरामका साथ उपाधि रक्षा गर्न निकट पुग्यो । तर, २०औं ओभरमा उनीहरू सम्हालिन सकेनन् । सो अन्तिमं ओभरको दोस्रो बलमा ममता दुर्भाग्यवश रनआउट हुन पुग्यो । ममता ३४ रन बनाएर आउट भएपछि एपीएफलाई अन्तिम ४ बलमा जितको लागि १० रनको आवश्यक थियो । प्रदेश १ की संगीता राईले बलिङमा थिइन्, क्रिजमा एपीएफकी कप्तान सीता रानामगर र करुणा थिए । यसले नतिजा एपीएफकै तिर जाने सम्भावना धेरै थियो ।

तर, संगीताले पाँचौं बलमा सीतालाई विकेटकिपर काजल श्रेष्ठद्वारा स्टम्पिङ आउट गरिन् । विपक्षी कप्तानको विकेटले प्रदेश १ लाई पहिलो प्रमुख उपाधि जित्न निकै धेरै निकट पु¥यायो । सीता २ रनमा आउट भएकी थिइन् । अर्को इन्डमा रहेकी करुणा २६ रनमा नटआउट रहिन् । उनी अर्को इन्डमा रहेकी हुँदा अन्तिम बल उनले सामना गर्न पाएनन् । अर्को इन्डमा रहेकी ब्याटसवोमेन रेखा रावलले अन्तिम बलमा १ रन मात्रै बटुलिन् । यसअघि, प्रदेश १ ले एपीएफका शीर्ष ५ विकेट मात्र ३२ रनको योगफलमा लिएको थियो । पहिलो ओभरमै ओपनर राजमती ऐरीलाई प्रदेश १ की कप्तान रुबिना क्षेत्रीले आउट गरिन् । राजमतीले खाता खोल्न पाइनन् । यस्तै, १८ रनको योगफलमा पुग्दा प्रदेश १ ले एपीएफलाई इन्दु बर्माको महत्वपूर्ण विकेट लिएर ठूलै झट्का दियो । इन्दुलाई रुबिनाले नै व्यक्तिगत ७ रनमा पभेलियन फर्काइन् भने सरिता मगरलाई अलिशा खडियाले आउट गरेर टिमका लागि तेस्रो सफलता दिलाइन् ।

सरिता ६ रनमा आउट भएकी थिइन् । त्यसपछि, ३ रनको अन्तरालमा प्रदेश १ ले दुई विकेट झारेर जित हासिल गर्न आधार बनायो । राम्रो ब्याटिङ गरिरहेकी ओपनर ज्योति पाण्डेलाई अलिशाले आउट गरिन् । ज्योतिले २ चौकाको सहयोगमा १४ रन बनाएकी थिइन् । त्यतिबेला टिमको स्कोर ४ विकेटको क्षतिमा २९ रन थियो । तीन रन जोड्दा सोनु खड्का १ रनमै रनआउटको शिकार भइन् । यसपछि, भने एपीएफका लागि ममता र करुणाले छैटौं विकेटका लागि सानदार ब्याटिङ गरे । उनीहरूले ६४ रनको साझेदारी गरे । तर, अन्तिम ओभरमा रन बनाउनुपर्ने दबाबमा यो साझेदारी टुटेको थियो ।

उनीहरूले सम्हालिएर ब्याटिङ गरेको अन्तिम ओभरमा छताछुल्ल हुन पुग्यो । प्रदेश १ को बलिङमा कप्तान रुबिना र एलिशाले २–२ विकेट लिए भने संगीताले १ विकेट लिइन् । प्रदेश १ ले देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको थियो । टिमले निर्धारित २० ओभरमा केवल ४ विकेट गुमाएर १ सय ५ रन बनाएको थियो । टिमले सामान्य योगफल बनाउने क्रममा ओपनर ब्याटसवोमेनद्वय अप्सरी बेगम र कप्तान रुबिना क्षेत्रीले सानदार शुरुआत दिलाए । उनीहरूले ५८ रनको ओपनिङ साझेदारी गरिन् ।१२.४ ओभरमा पहिलो विकेटका रूपमा आउट हुन् पुगेकी रुबिनाले ३२ बलको सामना गर्दै १८ रनको योगदान गरेकी थिइन् । रुबिना आउट भएपछि अप्सरी पनि सोही ओभरको अन्तिम बलमा आउट हुन् पुगिन् ।

आक्रमक शैलिमा ब्याटिङ गर्न रुचाउने अप्सरीले ४५ बलको सामना गर्दै ५ चौकासहित ३४ रनको योगदान गरिन् । यी दुईबाहेक टिमका लागि काजल श्रेष्ठले अविजित रहँदै २९ रन बनाइन् । उनले उक्त रन बनाउने क्रममा २६ बलको सामना गर्दै ३ चौकासमेत प्रहार गरिन् । यस्तै, रोमा थापाले ३ रन, निशा शाहले ५ बनाउँदा संगीता राई २ रनमा नटआउट रहिन् । बलिङतर्फ एपीएफका लागि कप्तान सीता राना मगरले ३ विकेट हात पार्न १७ रन खर्चिइन् । यस्तै, करुणा भण्डारीले १ विकेट लिएकी थिइन् ।

कसले कति कति पाए

विजेता प्रदेश १ ५ लाख
उपविजेता एपीएफ ३ लाख
सेमिफाइनलिस्ट लुम्बिनी र सुदूरपश्चिम २५÷२५ हजार
उत्कृष्ट खेलाडी संगीता राई (प्रदेश १) २१ हजार
उत्कृष्ट ब्याटसवोमेन ज्योति पाण्डे (एपीएफ) १० हजार
उत्कृष्ट बलर करुणा भण्डारी (एपीएफ) १० हजार

प्रतिक्रिया दिनुहोस्