काठमाडौं उपत्यका सहित देशका अधिकांश स्थानमा छिटफुट वर्षाको सम्भावना



काठमाडौं ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम सोमबार बदली हुने र वर्षाको सम्भावना रहेको जनाएको छ ।पश्चिमी वायुको प्रभावका कारण देशभर बदली भएको हो । यस्तै सोमबार बिहानदेखि काठमाडौं उपत्यकासहित देशभरका अधिकांश पहाडी क्षेत्रमा छिटफुट वर्षा भएको हो ।

महाशाखाले राति बादल लागेपछि काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ह्वात्तै बढेको जनाएको छ । हिजो बिहान २ दशमलव ५ डिग्री सेल्सियस रहेको काठमाडौंको न्यूनतम तापक्रम आज बढेर ९ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको हो ।

यसअघि गएको कार्तिक २३ गते काठमाडौंको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको थियो । त्यसयता लगातार घट्दै न्यूनतम तापक्रम एक दशमलव दुई डिग्री सेल्सियससम्म झरेको थियो । तर बादल लागेपछि तापक्रम ह्वात्तै बढेको हो ।

पश्चिमी वायुको प्रभावका कारण मौसम बद्ली भएर रातको समयमा बादल लागेकाले न्यूनतम तापक्रम बढेको मौसमविदले बताएका छन् । रातको समयमा बादल लाग्दा जमिनको तातो वाफ वायुमण्डलमा जान नपाउने हुँदा जमिन तातै रहने मौसमविद्ले बताउँदै आउँनुभएको छ । तर, न्यूनतम तापक्रम अहिले बढे पनि पश्चिमी वायुको प्रभाव हटेपछि भने तापक्रम घट्ने र चिसो झनै बढ्ने मौसमविदले बताउनुभएको छ ।

अहिलेको अवस्थालाई हेर्दा पश्चिमी वायुको प्रभाव पर्सि बुधबारसम्म नै रहने देखिएको छ । महाशाखाका अनुसार पश्चिमी वायुको प्रभाव हटेपछि तराईका जिल्लामा शीतलहरको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्