प्रदेश १ लाई प्रधानमन्त्री कप उपाधि



न्युज अफ नेपाल, काठमाडौं । 

दाङको लमहीमा भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश १ ले उचालेको छ ।

आईतबार भएको प्रतियोगिताको फाइनल खेलमा साविकको विजेता समेत रहेको विभागीय टोली एपीएफलाई ६ रनले पराजित गर्दै प्रदेश १ ले पहिलोपटक उपाधि उचालेको हो । उपाधिसँगै प्रदेश १ ले नगद पाँच लाख प्राप्त गर्दा उप– विजेता बनेको एपीएफले तीन लाख प्राप्त गरेको छ ।

खेलमा प्रदेश १ ले प्रस्तुत गरेको १ सय ६ रनको विजयी लक्ष्यलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको एपीएफ निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९९ रनमा सिमित हुन् पुगेपछि प्रदेश १ लाई उपाधि उचाल्न प्रयाप्त बन्यो । एपीएफका लागि ममता चौधरीले सर्वाधिक ३४ रनको योगदान गरिन् भने करुणा भण्डारीले अविजित रहदै २६ रन बनाइन् ।

यस्तै ओपनर ब्याटसवोमेनले १४ रनको योगदान दिँदा अन्य खेलाडीले उल्लेख्य योगदान गर्न नसक्दा जितको नजिक पुगेर एपीएफ निराश हुन् पुग्यो । बलिङतर्फ प्रदेश १ का लागि कप्तान रुविना क्षेत्री र अलिशा खडियाले २/२ विकेट लिए । भने संगिता राईले १ विकेट लिइन् ।

त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभर पूरै खेल्दै मात्र ४ विकेट गुमाएर १ सय ५ रन बनाएको थियो । टिमले बलियो योगफल बनाउने क्रममा उसका लागि ओपनर ब्याटसवोमेन अप्सरी बेगम र कप्तान रुविना क्षेत्रीले सानदार सुरुवात दिलाएका थिए ।

यी दुई ब्याटरबीच ५८ रनको ओपनिङ साझेदारी हुन् पुगेको थियो । १२.४ ओभरमा पहिलो विकेटका रुपमा आउट हुन् पुगेकी रुविनाले ३२ बलको सामना गर्दै १८ रनको योगदान गरेकी थिइन् । रुविना आउट भएपछि अप्सरी पनि सोही ओभरको अन्तिम बलमा आउट हुन् पुगिन् । आक्रमक शैलिमा ब्याटिङ गर्न रुचाउने अप्सरीले ४५ बलको सामना गर्दै ५ चौकासहित ३४ रनको योगदान गरिन् ।

यी दुई बाहेक टिमका लागि काजल श्रेष्ठले अविजित रहदै २९ रन बनाइन् । उनले उक्त रन बनाउने क्रममा २६ बलको सामना गर्दै ३ चौका समेत प्रहार गरिन् । यस्तै रोमा थापाले ३ रन , निशा शाहले ५ बनाउँदा संगिता राई २ रनमा अविजित रहिन् । बलिङतर्फ एपीएफका लागि कप्तान सिता राना मगरले ३ विकेट हात पारिन् । आफ्नो स्पेलको ४ ओभर पूरै बलिङ गरेकी उनले उक्त विकेट लिने क्रममा १७ रन खर्चिइन् । यस्तै करुणा भण्डारीले १ विकेट लिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्