संसद् पुनःस्थापना नगरिए संविधान फेल हुन्छ :कृष्ण पहाडी



बुटवल ।

मानव अधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीले प्रधानमन्त्री केपी ओलीले गरेको संसद् भंगलाई पुनःस्थापना नगरिए संविधान फेल हुने बताउनुभएको छ । मानव अधिकार तथा शान्ति समाज रूपन्देहीको २१औं साधारणसभा तथा ११औं अधिवेशन समारोह बुटवलमा शनिबार बोल्दै उहाँले उक्त धारणा राख्नुभएको हो ।

संविधानमा व्यवस्था नभएको संसद् विघटन गरेर प्रधानमन्त्री ओलीले संवैधानिक कू गर्नुभएको भन्दै नेता पहाडीले न्यायालयमा विचाराधीन अवस्थामा रहेको संसद् विघटनको मुद्दा पुनःस्थापना पनि नहुने र वैशाखमा चुनाव पनि हुन नसक्ने भए वर्तमान कामचलाउ सरकार पनि अवैध हुने पहाडीको भनाइ छ । संविधान असफल भए वैदेशिक शक्तिले मुलुकमा रजाइँ गर्ने भन्दै उहाँले प्रम ओलीका कारण लिगबाहिर गएको संविधानको रक्षा गर्दै संविधानलाई लिगमा ल्याउने काम न्यायालयले यथाशीघ्र गर्नुपर्न धारणा राख्नुभयो ।

पहाडीले प्रधानमन्त्रीको कदमले मुलुकमा गृहयुद्धको खतरा बढ्दै गएको स्पष्ट पार्नुभयो । उहाँले नेपाली काग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले प्रतिगमनकारीको कित्तामा लागेको समूहसँग साँठगाँठ गरे नेपाली कांग्रेसको भविष्य पनि संकटग्रस्त हुने चेतावनीसमेत दिनुभयो । नेता पहाडीले प्रधानमन्त्री ओलीको कदमले राजावादी र विप्लव माओवादीहरु सबैभन्दा बढी खुसी भएको पनि बताउनुभयो । उहाँले मुलुभरबाट ओलीको अतिवाद र ओलीको सनकको विरोधमा जनदबाब जरुरी रहेकाले नागरिक समाज तथा सामाजिक अभियान्ताहरूलाई समेत आन्दोलित हुन आह्वान गर्नुभएको थियो ।

कार्यक्रममा लुम्बिनी प्रदेश नेपाली कांग्रेस संसदीय दलकी सचेतक निर्मला क्षेत्रीले प्रधानमन्त्री ओलीको कदम संवैधानिक कू भएको भन्दै संसद् विघटन गर्नु प्रधानमन्त्री ओलीको सर्वसत्तावाद अलोकतान्त्रिक कदम भएको ठहर गर्नुभयो । समाजका रूपन्देही सभापति डीबी खनालको सभापतित्वमा भएको कार्यक्रममा ट्रेड युनियन कांग्रेसका केन्द्रयि उपाध्यक्ष अजय राई, वरिष्ठ पत्रकार बालकृष्ण चापागाईं, उच्च अदालत बुटवल वारका अध्यक्ष जोगबहादुर खत्री, राष्ट्रिय मानव अधिकार आयोग बुटवलकी प्रमुख समझना शर्मा, प्रहरी नायव उपरक्षिक प्रतीतसिंह राठौरलगायतले कार्यक्रममा धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्