प्रधानमन्त्रीलाई चौतर्फी घेराबन्दीका कारण संसद् विघटन गरियाे : प्रदीपकुमार ज्ञवाली



कविराज नेपाल, पाल्पा  ।

परराष्ट्रमन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवालीले दुई तिहाइ मत प्राप्त गरेका प्रधानमन्त्रीलाई चौरतर्फी घेरा हाली काम गर्न नदिएका कारण प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशमा जाने निर्णय गरिएको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ पाल्पाले शनिबार तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेकपा ओली समूहका प्रवक्तासमेत रहनुभएका उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले प्रधानमन्त्रीको गरेको संसद् विघटनको निर्णय संवैधानिक र लोकतान्त्रिक भएको दाबीसमेत छ । नेता ज्ञवालीले नेपालमा स्थापित संघीय लोकतान्त्रिक व्यवस्थालाई विश्वका सबै मुलुकको साथ रहेकाले परिवर्तनलाई उल्टाउने कसैको प्रयास सफल नहुने बताउनुभयो । ज्ञवालीको दुई तिहाइ सरकार हटाएर पुनः गठबन्धनको सरकार निर्माण गर्दा मुलुक थप जटिलता र द्वन्द्वमा फस्ने भएकाले ताजा जनादेशका लागि प्रधानमन्त्रीले संसद् विघटन गर्नुपरेको दाबी छ ।

अर्काे समूहका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालप्रति लक्षित गर्दै नेता ज्ञवालीले भन्नुभयो– ‘तीतो सत्य यही हो, उहाँहरुको पद लोलुपताका कारण पार्टीमा गम्भीर समस्या आएको हो ।’ अहिले पनि नेकपा पार्टी फुट नभएको बताउँदै नेता ज्ञवालीले सबै पार्टीलाई आउँदो वैशाखमा हुने निर्वाचनमा केन्द्रित हुन अनुरोध गर्नुभउको छ ।

पत्रकार भेटघाट कार्यक्रममा नेता ज्ञवालीले तिक्ततापूर्ण भारत सम्बन्ध अहिले समधुर हुँदै गएको, भारतीय परियोजनाहरू पुनःसञ्चालनमा आएको, सीमा समस्या पनि वार्ताबाटै समाधान हुने उल्लेख गर्नुभउको छ । नेता ज्ञवाली ओली पक्षीय जिल्ला कार्यकर्ताहरूलाई सम्वोधन गर्न पाल्पा आउनुभएको हो । पाल्पामा प्रचण्ड–नेपाल पक्षले यसअघि नै कार्यकर्ता भेला गरिसकेको छ । दुवै पक्षले अगुवा कार्यकर्ता आफ्नो पक्षमा ल्याउने होडबाजी नै चालेका छन् ।

प्रतिक्रिया दिनुहोस्