फाइनलमा एपीएफ र प्रदेश १ भिड्दै



 काठमाडौं  ।

दाङमा जारी ‘प्रधानमन्त्री कप राष्ट्रिय महिला टी २० क्रिकेट प्रतियोगिता’अन्तर्गत नेपाल एपीएफ क्लब र प्रदेश १ फाइनलमा भिड्ने भएका छन् । शनिबार दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा भएका सेमिफाइनल खेल जित्दै एपीएफ र प्रदेश १ फाइनलमा पुगेका हुन् । विभागीय टिम एपीएफले सुदूरपश्चिम प्रदेश ९ विकेटले हरायो ।

त्यस्तै, प्रदेश १ ले लुम्बिनी प्रदेशलाई १० विकेटले हराउन सफल भएको छ । प्रदेश १ र एपीएफ दुवै टिम लिग चरणमा आ–आफ्नो समूहमा सबै खेल जितेर अन्तिम चारमा पुगेका हुन् । उपाधिकै दाबेदारी एपीएफले सुदूरपश्चिमलाई ब्याटिङमा जम्नै दिएन । सुदूरपश्चिमले मात्र ६१ रनको लक्ष्य दिएकोमा एपीएफले १५ ओभरमा मात्र १ विकेट गुमाएर जित हात पा-याे । टिमको जितमा ओपनर ब्याटसवोमेन ज्योति पाण्डेले नटआउट रहँदै २६ रनको योगदान दिइन् । यस्तै, सरिता मगर पनि १९ रनमा नटआउट रहिन् । जबकि, कप्तान सीता रानामगरले केवल ७ रन जोडेर आउट भएकी हुन् । ओपनिङमा आएकी सीतालाई कविता कुँवरले आउट गरेकी हुन् । यसअघि, खराब मौसमका कारण १६ ओभरमा घटाइएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले ७ विकेट गुमाएर ६० रन बनाएको थियो । सुदूरपश्चिमको लागि कविता जोशीले नटआउट हुँदै सर्वाधिक २२ रन जोडिन् भने ओपनर रेवती धामीले १२ रन बनाइन् । अन्य खेलाडीले भने दोहोरो अंक जोड्न सकेनन् ।

सुदूरपश्चिमको ब्याटिङ कमजोर बन्नमा एपीएफकी बलर करुणा भण्डारीको बलिङ घातक हुनु हो । करुणाले ४ ओभरमा ११ रन खर्चेर ३ विकेट लिएकी हुन् । उनले दुवैजना ओपनर रेवती धामी र कविता कुँवरको विकेट हासिल गरिन् । यस्तै, कप्तान सीताले १ विकेट लिइन् । उनले सुदूरकी कप्तान बिन्दु रावललाई शून्यमै बोल्ड गरेकी हुन् । अन्य तीन खेलाडी भने रनआउट भएका हुन् । यस्तै, अर्को सेमीफाइनल खेलमा लुम्बिनीले दिएको सामान्य ५३ रनको लक्ष्य प्रदेश १ ले ८.५ ओभरमा सबै विकेट सुरक्षित राखी ५५ रन जोडेर प्राप्त ग-याे । टिमलाई जित दिलाउन ओपनरद्वय काजल श्रेष्ठ र कप्तान रुबिना क्षेत्रीले सानदार ब्याटिङ गरे । कप्तान रुबिना २६ रनमा र काजल २२ रनमा नटआउट रहेर टिमको जित सुनिश्चित बनाएका हुन् ।

रुबिनाले २ चौका र १ छक्का प्रहार गर्दा काजलले २ चौका प्रहार गरिन् । यसभन्दा पहिले ब्याटिङ गरेको लुम्बिनी १४.१ ओभरमा अलआउट हु“दै ५२ रनमा सीमित हुन पुग्यो । लुम्बिनीका लागि नितु भण्डारीले सर्वाधिक २१ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकसमेत जोड्न सकेनन् । ३० बलको सामना गरेकी नितुले केवल १ चौका प्रहार गरिन् । लुम्बिनीको ब्याटिङ धर्मराउनुमा प्रदेश १ का बलरहरूले फिल्डिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गर्नु हो ।

प्रदेश १ का ५ खेलाडी रनआउटको शिकार बने । जसमा ओपनरद्वय गीता गोसाई र सरस्वती घर्तीगमर सामेल छन् । उनीहरू क्रमशः २ र १ रन बनाएर पभेलियन फर्केका हुन् । तर, तेस्रो नम्बरमा ब्याटिङ गर्न आएकी नितुले टिमको ब्याटिङ उकास्न प्रयत्न गरिन् । अर्को इन्डबाट गतिलो साथ नपाएपछि उनको प्रयास व्यर्थ भयो । प्रदेश १ का संगीता राई र निग्मा तामाङले २-२ विकेट लिँदा कप्तान रुबिनाले १ विकेट लिन सफल भइन् । उपाधिका लागि आइतबार प्रदेश १ ले एपीएफको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्