लाङटाङ क्षेत्रमा प्लास्टिकमुक्त अभियान



रसुवा  ।

पर्यटकीय क्षेत्रमा प्लास्टिकजन्य फोहोर बढ्दै जाँदा पर्यटन क्षेत्रमा प्रभाव परेका कारण लाङटाङ क्षेत्रमा प्लास्टिकमुक्त अभियान थालिएको छ । पर्यटकीयस्थल लाङटाङ र गोसाइँकुण्डअन्तर्गत पर्ने तीनवटा पदमार्गमा यो अभियान सञ्चालन गरिन लागिएको छ । पर्यटकीय क्षेत्रमा दिगो वातावरणीय तथा परिस्थितिक प्रणाली व्यवस्थापन (सिम) नेपालले हरियाली नेपाल अभियानअन्तर्गत अघि बढाउन लागेको हो ।

अभियानमा जनचेतनामूलक कार्यक्रम सञ्चालन र विभिन्न स्थानमा भेटिएका प्लास्टिकजन्य वस्तुको व्यवस्थापन गरिने सिम नेपालका समरक्षक ढाकामोहन अधिकारीले जानकारी दिनुभयो । बढ्दै गएको पोलेथिनजन्य वस्तुको प्रयोगले वातावरणमा प्रतिकूल प्रभाव परेको र अहिलेको परिवेशमा प्लास्टिकको प्रयोगमा बन्देज लगाउन सम्भव नभएकाले अभियान सञ्चालन गरिरहेको उहाँ बताउनुहुन्छ ।

सिम नेपालका अनुसार पहिलो चरणमा गोसाइँकुण्ड गाउँपालिका र लाङटाङ राष्ट्रिय निकुञ्जका सरोकारवाला निकायसँग छलफल अघि बढाइएको छ । क्याङजिङ, लाङटाङ हुँदै स्याफ्रुबेंसीसम्म, गोसाइँकुण्ड, ठूलो स्याफ्रु हुँदै पुनः स्याफ्रुबेंसीसम्म र गोसाइँकुण्डदेखि धुन्चेसम्म गरी तीनवटा पर्यटकीय पदमार्गमा अभियान सञ्चालन गरिँदै छ ।

प्रतिक्रिया दिनुहोस्