प्रचण्ड–नेपालमाथि ओलीको कटाक्ष : चुनाव तिजेर देखाउन चुनौती



काठमाडौं, (नेस)

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड–नेपाल समूहमाथि कटाक्ष गर्नुभएको छ । अहिलेको प्रणालीलाई जोगाउन आफूले प्रतिनिधिसभा विघटन गरेको बताउँदै उहाँले ताजा जनादेशका लागि निर्वाचनको घोषणा गरिएको बताउनुभएको हो ।

उहाँले प्रचण्ड–नेपाललाई आगामी निर्वाचनमा दुई अंकको सिट जितेर देखाउन पनि चुनौती दिनुभयो । अध्यक्ष ओलीले प्रचण्ड र माधवकुमार नेपाललाई भेट्नु कुहिएर झरेका फलको संज्ञासमेत दिनुभएको छ ।

शनिबार काठमाडौं जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले खिया लागेको दुईटा नटबोल्ट खुस्एिकाले अहिले पार्टी गतिका साथ अगाडि बढेको बताउनुभयो । ओलीले प्रचण्ड–माधव समूहले घोषणा गरेको आन्दोलनप्रति व्यंग्य गर्दै भन्नुभयो– ‘अलि–अलि मान्छे त सिसीमा औषधी बेच्नेले पनि रत्नपार्कमा जम्मा गर्छ, उहाँहरु (प्रचण्ड–नेपाल)को हालत त्यसभन्दा बढ्ता हुनेवाला छैन किनकि उहाँहरुको एजेन्डा जनता होइन, संविधानको रक्षा होइन ।’

ओलीले प्रचण्ड–नेपाल समूहले गरेको बहुमतको दाबी झूटो भएको बताउँदै कुनै महाधिवेशन र निर्वाचन नै नभएको अवस्थामा बहुमत भनेर दाबी गर्न सुहाउने विषय नभएको बताउनुभयो । प्रचण्ड–नेपाल समूहलाई प्रश्न गर्दै उहाँले भन्नुभयो– ‘कहाँको बहुमत? कुन महाधिवेशनको बहुमत? कुन कार्यकर्ताको बहुमत? कहाँबाट आयो बहुमत? एउटा जिल्ला, एउटा निर्वाचन क्षेत्रमा बहुमत पु¥याएर देखाउन सक्नुहुन्छ?’

प्रधानमन्त्री ओलीले सूर्य चुनाव चिह्नमा कसैले दाबी गर्न नमिल्ने बताउँदै कार्यकर्तालाई सूर्य चिह्न आफ्नै हुनेमा विश्वाससमेत दिलाउनुभएको छ । प्रचण्ड–माधव नेपाल खेमा पदको पछाडि दौडिरहेको आरोप लगाउँदै पद चाहिएको भए पार्टी बैठकमा आउन उहाँले आग्रह गर्नुभयो ।

पार्टीको विधि र संविधानअनुसार आफूहरुले पार्टी चलाइरहेको दाबी गर्दै प्रचण्ड–नेपाल समूहले आन्दोलनको घोषणा आफूलाई जानकारी भए पनि त्यसको कुनै औचित्य नरहेको ओली बताउनुहुन्छ ।

‘प्रचण्ड–नेपालका कारण पार्टी विभाजन’
उपप्रधानमन्त्री एवं नेकपाका नेता ईश्वर पोखरेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालका कारण नेकपा विभाजनको अवस्थामा पुगेको आरोप लगाउनुभएको छ । उहाँले प्रचण्ड–नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई दुवै पदबाट हटाउन षड्यन्त्र गरेका कारण पार्टी विभाजनमा पुगेको आरोप लगाउनुभएको हो ।

प्रचण्ड र नेपाल दुवै नेताले पदमा पुग्नका लागि अस्वाभाकिरुपमा पार्टीभित्र चलेखल गर्दा पार्टी नै विभाजित बन्न पुगेको पोखरेलले बताउनुभयो।

शनिबार मजदुर विशेष जिल्ला कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले प्रचण्डले पार्टी कब्जा गर्ने गरी गतिविधि सञ्चालन गरेपछि गम्भीर समस्या देखापरेको आरोप लगाउनुभयो । पार्टी एकता हुनुभन्दा अगाडिदेखि नै प्रचण्डले सहमति उल्लंघन गरेको बताउँदै उहाँले एउटै चुनाव चिह्नमा निर्वाचनमा जाने सहमति कार्यान्वयन नगर्दा १० लाख मत खेर गएको गुनासो गर्नुभयो ।

प्रधानमन्त्री ओलीले राष्ट्रियता र स्वाधीनताका पक्षमा दृढतापूर्वक उभिँदै नाकाबन्दीको सामना, चीनसँग पारवहन सम्झौता र भारतले अतिक्रमण गरेको भूमि समेटी नयाँ नक्सा जारीलगायतका थुप्रै महत्वपूर्ण कामको प्रचण्ड–नेपाल समूहलाई असह्य भएको उहाँले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्