कर्णालीका तीन जिल्ला काेराेनामुक्त



कर्णाली ।

कर्णालीका तीन जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या शून्यमा झरेको छ । कालीकोट, रुकुमपश्चिम र मुगु जिल्लामा कोरोना संक्रमितको सङ्ख्या शून्यमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सबै संक्रमित निको भई डिस्चार्ज भएसँगै ती जिल्ला कोरोनामुक्त भएका हुन् । यसअघि रुकुमपश्चिममा २५५, कालीकोटमा ३२८ र मुगुमा ४१ जनामा संक्रमण पुष्टि भएको थियो । विभिन्न आइसोलेशनमा उपचाररत संक्रमित हाल निको भई घर फर्किसकेका छन् ।

सामाजिक विकास मन्त्रालयको पछिल्लो अद्यावधिक तथ्याङ्कअनुसार सुर्खेतमा ९७, दैलेखमा दुई, जाजरकोटमा १४, सल्यानमा ३१, जुम्लामा छ, हुम्लामा ११ र डोल्पामा नौ जनागरी १७० कोरोना संक्रमणका सक्रिय बिरामी छन् । मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको सङ्ख्या सात हजार ३५७ पुगेको जानकारी दिनुभयो ।

आरडिटी र पीसीआर विधिबाट ९६ हजार १०२ जनाको गरिएको परीक्षणमध्येबाट सात हजार ३५७ जनामा संक्रमण पहिचान भएको हो । कर्णालीका प्रदेश अस्पताल-पशुपक्षी रोग अन्वेषण सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, जिल्ला अस्पताल दैलेख र चौरजहारी सामुदायिक अस्पताल रुकुमपश्चिमका प्रयोगशालाबाट पीसीआर परीक्षण हुँदै आएको छ ।

कर्णाली प्रदेशमा कोरोना संक्रमण बाट २६ जनाको मृत्यु भएको छ । तीमध्ये सबैभन्दा बढी सुर्खेतका १५ जना छन् । त्यस्तै दैलेखका छ, डोल्पा, कालीकोट, रुकुमपश्चिमका एक-एक तथा सुर्खेतमा उपचारका क्रममा बाँकेका दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्