आजदेखि राष्ट्रियसभाको हिउँदे अधिवेशन सुरु



काठमाडौं ।

प्रतिनिधिसभा विघटन भएको र यसबारेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा आजदेखि राष्ट्रियसभाको हिउँदे अधिवेशन सुरु हुँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा आज दिउँसो ४ बजे राष्ट्रियसभाको बैठक बस्न लागेको हो ।

नेकपाको प्रचण्ड–नेपाल समूह तथा प्रमुख प्रतिपक्ष कांग्रेसलगायतका विपक्षी दलले प्रतिनिधिसभा विघटनको विषयलाई राष्ट्रियसभाको बैठकमा उठाउने तयारी गरेका छन् । तर राष्ट्रियसभामा प्रतिनिधिसभा विघटनको विषयमा कुरा उठाउन मिल्ने कि नमिल्ने भन्ने बहस पनि चलिरहेको छ । आज पहिलो दिनको बैठकमा पेस हुने सम्भावित कार्यसूची तयार भएको छ । संसद् सचिवालयका अनुसार बैठकको सुरुमै अधिवेशन आह्वान र मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाइने छ । यस्तै राष्ट्रियसभाका समिति गठनसम्बन्धी आदेश, २०७७ सभाबाट अनुमोदनका लागि पेस हुने कार्यसूची छ ।

यस्तै राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताले अधिवेशन सफलताका लागि शुभकामना मन्तव्य राख्नेछन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री दयेश त्रिपाठीले औषधि तेस्रो संशोधन, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र फौजदारी कसुर तथा फौजदारी कार्य विधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ पेस गर्नुहुने संसद् सचिवालयले जनाएको छ । राष्ट्रियसभामा नेकपाका ४९, कांग्रेसका ६ र जनता समाजवादीका ३ सांसद छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी पहिलो संशोधन, गृहमन्त्री रामबहादुर थापाले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन, नेपाल प्रहरी र प्रदेश प्रहरी पहिलो संशोधन तथा सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश बैठकमा पेस गर्नुहुने सम्भावित कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस्