यमनको बिमानस्थलमा आक्रमण, २२ जनाको मृत्यु



एडेन । दक्षिणी यमनस्थित एडेनको बिमानस्थलमा भएका तीनवटा बिस्फोटमा मृत्यु हुनेको संख्या २२ पुगेको यमनको गृह मन्त्रालयले जनाएको छ । एडेनस्थित गृह मन्त्रालयले जारी गरेको पछिल्लो विज्ञप्तिमा एडेन बिमानस्थलमा भएका तीन वटा बिस्फोटमा परेर २२ जनाको मृत्यु भएको र अरु ५० जना घाइते भएको उल्लेख छ ।

सरकारी अधिकारीहरुलाई बिमानस्थलमा गर्न लागिएको स्वागत कार्यक्रमलाई लक्षित गरी उक्त बिस्फोट गराइएको मन्त्रालयको भनाई छ । यमनका राष्ट्रपति अब्दु मन्सुर हादीले बिस्फोटका लागि हुथी विद्रोहीहरु जिम्मेवार रहेको आरोप लगाउनु भएको छ ।

राष्ट्रपति हादीले बिमानस्थलमा भएको बिस्फोटका बारेमा छानबिन गर्न सुरक्षा निकाय सम्मिलित एक समिति गठन गर्नु भएको छ । यसैबीच, रेडक्रसको अन्तर्राष्ट्रिय समितिले बिमानस्थलमा भएको बिस्फोटमा परेर आफ्ना एक जना कर्मचारीको पनि मृत्यु भएको जनाएको छ । खाडी क्षेत्रको अति गरिब मुलुक यमनमा सन् २०१४ देखि गृहयुद्ध जारी छ ।

प्रतिक्रिया दिनुहोस्