स्रोत नजिकै पानी प्रशोधन केन्द्र बनाइने



काठमाडौँ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले उपत्यकाका विभिन्न स्थानमा खानेपानीको स्रोत नजिकै पानी प्रशोधन केन्द्र बनाउन थालेको छ । पहिले पानी वितरण केन्द्र नजिकै प्रशोधन केन्द्र रहेकोमा अहिले स्रोत नजिकै बनाउन लागिएको लिमिटेडले जनाएको छ ।

कतिपय स्थानमा स्रोत र प्रशोधन केन्द्रबीच दूरी रहेको र त्यसबीचमा बस्ती रहेको थियो । बीचका बस्तीमा पानी प्रशोधन नभइ पठाइएकाले सबैतिर प्रशोधन भएको पानी दिनका लागि स्रोत नजिकै प्रशोधन केन्द्र बनाउन लागिएको लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार काठमाडौँ उपत्यकाका स्रोत नजिकै प्रशोधन केन्द्र बनाउनका लागि अध्ययन अघि बढाइएको छ । उहाँले भन्नुभयो, “पहिले अध्ययन भएपछि नै योजना बनाएर निर्माणमा जान सकिन्छ ।”लिमिटेडले उपत्यकामा रहेका ३५ स्रोतको पानी वितरण केन्द्रमार्फत वितरण गर्दै आएको छ । प्रशोधन केन्द्र निर्माणका लागि स्थानीय तहसँग पनि आवश्यक समन्वय भइरहेको जनाइएको छ ।

अहिलेसम्म टोखा र बूढानीलकण्ठ नगरपालिकाले केन्द्रका लागि जग्गा दिने सहमति भएका छन् । अन्य नगरपालिकासँग पनि यसका लागि समन्वय भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “नयाँ स्रोत पहिचान गर्न र भएका स्रोत नजिकै प्रशोधन केन्द्र बनाउन दुबैका लागि स्थानीय तहसँग नै सहकार्य भइरहेको छ ।”

काठमाडौँ उपत्यकामा वितरण गर्नका लागि मेलम्ची खोलाको पानी ल्याउने तयारी भइरहँदा लिमिटेडले भइरहेका स्रोतको पनि व्यवस्थापनको काम अघि बढाइरहेको छ । लिमिटेडले उपत्यकामा नै विभिन्न स्थानमा रहेका स्रोतको पानी समेत ल्याउनका लागि समन्वय अघि बढाएको छ । लिमिटेडले मेलम्चीको पानी आउनासाथ वितरणका लागि पनि आवश्यक तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्