‘प्रचण्ड छलछाम र षड्यन्त्रको पुलिन्दा’ : इश्वर पोखरेल



मोतीराम तिमल्सिना, काभ्रे ।

नेकपा नेता एवं उपप्रधान मन्त्री इश्वर पोखरेलले पुष्पकमल दाहालले एकता गरिरहँदा नै छलछाम र षढयन्त्रको तानाबुना शुरु गरेको बताउनु भएको छ । ‘निर्वाचनताका साझा उम्मेदवार, साझा घोषणा पत्र र साझा निर्वाचन चिन्ह बनाएर जाने निर्णयको मसि नसुक्दै प्रचण्डले चुनाव चिन्ह एउटै हुँदैन भन्नुभयो’–उपप्रधानमन्त्री इश्वर पोखरेलले बताउनु भयो ।

नेकपा ओली समुहको पुर्वी बागमती जिल्लाका केन्द्रिय सदस्यहरुको धुलिखेलमा आयोजित भेलालाई सम्बोधन गर्दै नेता पोखरेलले पार्टी एकिकरण प्रस्तावमा हामी खुशी हुँदा प्रचण्डले शुरुमै दाँतमा ढुंगा लगाएको बताउनु भयो । ‘चुनाव चिन्हको गडबढीका कारण १० लाख मत बदर भयो’–नेता पोखरेलले भन्नुभयो–‘निर्वाचन अगावै एकता भाड्न लाग्नु भएका प्रचण्डले २०७४ फागुन ३ गते सरकार गठनमा अवरोध गरेर दोश्रो पटक एकतामा आँच पु-याउनु भयो ।’

निर्वाचनमा साझा उम्मेदवार, घोषणा पत्र र उम्मेदवार उठाएर अघि बढेको पार्टी काँग्रेस, मधेशवादी दल र अन्य साना पार्टीसँग मिलेर ५ वर्ष प्रधानमन्त्री बन्ने योजनाका साथ प्रचण्डजीले सम्झौता गर्नु भएको नेता पोखरेलले बताउनु भयो । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डजीको धुत्र्याई थाहा पाएर एकताका लागि २०७४ फागुन ७ गते गठबन्धन टुट्नु हुँदैन भनेर सम्झौता गरेको उहाँले बताउनु भयो ।

भेलालाई सम्बोधन गर्दै नेता पोखरेलले जनताको चाहना, कार्यकर्ताको चाहनार राष्ट्रिय आवश्यकताका आधारमा थुप्रै असहमतिका बाबजुत पनि पार्टी एकिकरण गरेको बताउनु भयो । ‘संकटको बीचमा पनि आशावादी छौ’–नेता पोखरेलले भन्नुभयो–‘आशावादी भएरै बस्तुस्थितीको वास्तविकताका आधारमा ठिक ढंगले योजना बनाउन बागमती प्रदेशका पूर्वी जिल्लाका नेताहरुको भेला धुलिखेलमा राखिएको हो ।’

काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र सिन्धुली जिल्लाबाट केन्द्रिय सदस्यमा प्रतिनिधित्व गर्ने नेताहरुका साथै संघ र प्रदेश सरकारमा मन्त्री भएका नेताहरु भेलामा सहभागि छन् । नेता आनन्द पोखरेलको अध्यक्षतामा बसेको भेलामा बागमती प्रदेशका पाँचवटा जिल्लाको अवस्था, नेता तथा कार्यकर्ताहरुको संलग्नता र आगामी दिनको रणनीतिका बारेमा कार्ययोजना तयार गरिएको छ ।

पुर्व मन्त्री एवं केन्द्रिय सदस्य गोकुल बास्कोटाको संचालनमा सम्पन्न भएको भेलामा केन्द्रिय सल्लाहकार कमिटीका अध्यक्ष केशव बडाल, मन्त्रीहरु पार्वत गुरुङ्ग, दावा तामाङ, बागमती प्रदेशका अथमन्त्री कैलाश ढुंङ्गेल लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

पत्रकारहरुको भेला

नेकपा निकट पत्रकारहरुको भेला धुलिखेलमा सम्पन्न भएको छ । पुर्व प्रेस चौतारी निकट पत्रकारहरु प्रेस संगठनका नाममा भेला भएका थिए । अध्यक्ष भुवन रायमाझीको अध्यक्षतामा सम्पन्न भेलालाई केन्द्रिय सदस्य एवं गोकुल बास्कोटा, जिल्ला अध्यक्ष अशोक ब्याञ्जु, सचिव नारायण पाण्डेले निर्देशन दिनु भएको थियो ।

केन्द्रिय सदस्य गोकुल बास्कोटाले पदमा सिद्धान्त साट्नेहरु, घुक्र्याएर पद लिनेहरुलाई कार्यकर्ताले हिसाव गर्ने बताउनु भयो । १५ वर्षसम्म माधव नेपाललाई पार्टी महासचिवमा सहयोग गर्ने ओलीलाई माधव नेपालले ५ दिन पनि सहयोग नगरेको बास्कोटाले बताउनु भयो । ‘माधव नेपाल नक्कली जवजबादी हुन्’–नेता बास्कोटाले भन्नुभयो–‘माधव नेपालको मनमा मदन भण्डारीका बारेमा मैलो छ ।’

नेता बास्कोटाले पार्टीको विधान विपरित पुष्पकमल दाहाल र माधव नेपालले कार्य गरेको बताउनु भयो । पुर्व एमाले निकट सबै पत्रकारहरु केपी ओलीले नेतृत्व गरेको नेकपाकै पक्षमा रहेको घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्