म्याग्दीका सबै स्थानीय तहमा टेलिकमको फोरजी सेवा सुरु



प्रताप बानियाँ, म्याग्दी ।

हिमाली जिल्ला म्याग्दीको ६ वटै स्थानीय तहमा नेपाल टेलिकमको फोरजी इन्टरनेट सेवा पुगेको छ । जिल्लाको बेनी नगरपालिका, मंगला, मालिका, धवलागिरि, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा इन्टरनेटको चौथो पुस्ता अर्थात् फोरजी सेवा विस्तार गरिएको हो ।

बेनी नगरपालिकाको क्याम्पसचोक, टेलिकमको आफ्नै कार्यालय, गलेश्वर तथा पुलाचौरमा रहेको मोबाइलको बिटिएस टावरमा इन्टरनेटको फोरजी सेवा जडान गरी सञ्चालनमा ल्याइएको छ । यसैगरी मंगला गाउँपालिकाको बराङ्जाको आल्डाँडा र झाँक्रीपानी, मालिकाको देवीस्थानस्थित रुन्मा, ओखरबोट, बिम र धवलागिरिको ताकममा रहेको बिटिएसमार्फत फोरजी सेवा सञ्चालनमा आएको नेपाल टेलिकम दुरसञ्चार कार्यालय म्याग्दीले जनाएको छ ।

त्यस्तै रघुगंगा गाउँपालिकाको टोड्के र पाखापानी तथा अन्नपूर्णको राम्चेमा रहेको बिटिएस टावरमा पनि फोरजी इन्टरनेट जडान गरी सञ्चालनमा आएको टेलिकम कार्यालय म्याग्दीका प्रमुख विष्णुदेव शाहले जानकारी दिनुभयो । फोरजी इन्टरनेटलाई द्रुत गतिको इन्टरनेटका रुपमा चिनिन्छ । देशको सबै जिल्लामा इन्टरनेटको फोरजी सेवा उपलब्ध गराउने सरकारको नीतिअनुसार फोरजी सेवा विस्तारलाई अगाडि बढाइएको हो । म्याग्दीका सबै स्थानीय तहमा इन्टरनेटको फोरजी सेवा पुगेपछि स्थानीय खुशी भएका छन् ।

विद्युत सेवा पुगेको ठाउँमा नेपाल टेलिकमको फोरजी सेवा पुर्‍याइएको कार्यालय प्रमुख शाहले बताउनुभयो । उहाँका अनुसार विद्युतीकरण नभएको ठाउँमा टेलिकमले आफ्नो संरचना निर्माण गरिरहेको हुँदा विद्युत सेवा सञ्चालनमा आउनेबित्तिकै टेलिकमको फोरजी इन्टरनेट सेवा सञ्चालन गरिने तयारी भैरहेको छ । विद्युत सेवा नपुगेका दुर्गम र विकट ठाउँमा पनि फोरजी इन्टरनेट जडानको क्रममा रहेकाले अहिले बिटिएस टावर निर्माणका लागि आवश्यक तयारी थालिएको कार्यालय प्रमुख शाहले बताउनुभयो ।

विद्युतीकरण भएको ठाउँ तथा टेलिकमको बिटिएस निर्माण गरिएको ठाउँमा फोरजी सेवा सञ्चालनमा आइसकेको छ भने बाँकी ठाउँमा संरचना निर्माणका साथै फोरजी जडानको क्रममा रहेको छ । वाईम्याक्स जडान भएको ठाउँमा फोरजी सेवा सञ्चालन भएपछि वाईम्याक्सलाई फोरजी इन्टरनेटले रिप्लेस गरेको टेलिकम म्याग्दीका सूचना अधिकारी वसन्त पुरीले बताउनुभयो । इन्टरनेटको चौथो पुस्ता अर्थात् फोरजी सेवा जिल्लाको सबै स्थानीय तहमा पुगेको टेलिकमले दावी गरेको भए पनि धवलागिरि गाउँपालिकाको केन्द्र मुनामा भने विद्युतीकरण पुगिनसकेको हुँदा सञ्चालन भएको छैन । त्यहाँ विद्युत पुग्दाबित्तिकै फोरजी सेवा चलाउने टेलिकमले जनाएको छ ।

चालु आर्थिक वर्ष २०७७/७८ को मंसिर मसान्तसम्म म्याग्दी जिल्लामा कुल ९१ हजार १ सय १ जना सञ्चारको पहुँचमा पुगेको टेलिकमको तथ्याङ्क छ । फोरजी सेवा भन्नाले इन्टरनेटको चौथो पुस्ताका साथै उच्च गतिको इन्टरनेटका रुपमा मानिन्छ । विदेशी मुलुकहरुमा इन्टरनेटको फाइजीलगायत सेवाको सुरुवात भैसक्दा नेपालमा भने बल्ल फोरजी सेवा विस्तार गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्