अति महत्वाकाङ्क्षा : विनाशको बाटो



प्रा.डा. तीर्थप्रसाद मिश्र

आफ्नो प्रसिद्ध ग्रन्थ दि रिपब्लिकामा प्लेटोले भनेका छन्, ‘महत्वाकांक्षाको अभावमा असल मानिसहरुले राजनीतिलाई परित्याग गर्दछन् र हामी खराब मानिस र उनीहरुका महत्वाकांक्षाबाट शासित हुन पुग्दछौँ ।’ आज नेपाली जनताको भाग्य यस्तै खराब शासक र उनीहरुका अति महत्वाकांक्षाको हातमा खुम्चिन पुगेको महसुस भैरहेको छ ।

संसारमा महत्वाकाङ्क्षी शासकहरू विभिन्न कालखण्डमा देखा पर्ने गरेका छन् । महत्वाकाङ्क्षा शासकमा हुनै पर्ने गुण पनि हो । अरिस्टोटलले मानिसका तीन प्रकारका महत्वाकांक्षाको चर्चा गरेका छन्– ‘स्वस्थ महत्वाकांक्षा, अस्वस्थ महत्वाकांक्षा र न्यून महत्वाकांक्षा ।’ ‘स्वस्थ महत्वाकांक्षा’ भएको मानिस सदैव सकारात्मक सोचका साथ सही बाटोबाट आफ्नो लक्ष्य र उद्देश्य प्राप्तिका लागि प्रयत्नरत रहन्छ भने ‘अस्वस्थ महत्वाकांक्षा’ भएको मानिस जुनसुकै प्रयत्न र उपाय अवलम्बन गरेर भए पनि आफ्नो उद्देश्य पूरा गर्न प्रयत्नरत रहन्छ । यस्तो महत्वाकांक्षा हानिकारक र स्वार्थपूर्ण हुन्छ । ‘न्यून महत्वाकांक्षा’ भएको मानिस भने स्वार्थरहित र कुनै खास उद्देश्योन्मुख हुँदैन ।

जब मानिसमा उच्च महत्वाकांक्षा जाग्दछ त्यो ‘अस्वस्थ महत्वाकांक्षा’को रुपमा प्रकट हुन थाल्दछ । यस्ता मानिस आफ्नो शक्ति, प्रभाव र असफलताप्रति अधिक नै संवेदनशील हुन्छन् । उनीहरुमा निरन्तर असन्तोष र निराशा मात्र प्रभावी हुन्छ ।

हाम्रो देशमा पनि यस्ता अस्वस्थ अथवा अति महत्वाकाङ्क्षा भएका राजनेतृत्वको बेला–बेलामा उदय र अवसान भएका र उनीहरुको असफलताले राष्ट्रलाई गम्भीर क्षति पुगेका थुप्रै दृष्टान्त छन् । यस लेखमा यस्तै अति महत्वाकाङ्क्षाबाट नेपाली राजनीतिमा उदय भएर अन्ततः अवसान भोग्न बाध्य शासक र तिनको कारणले मुलुकले भोग्नुपरेको पीडाको चर्चा गरिएको छ ।

संसारमा अति महत्वाकाङ्क्षी शासकहरूमा बेलायतका क्रमबेल जर्मनीका बिस्मार्क तथा हिटलर, इटलीका मुसोलिनी र फ्रान्सका नेपोलियन बोनापार्टको नाम अग्रपङ्तिमा आउँछ । जसको अवसानको प्रमुख कारण निजहरुकै अस्वस्थ महत्वाकांक्षा रहेको देखिन्छ । नेपालमा पनि शासकका अति महत्वाकाङ्क्षाले गर्दा राज्यको बागडोर सम्हाल्नेहरूको अवसान भई मुलुकले व्यहोर्नुपरेको अपुरणीय क्षतिका घटना धेरै छन् । पूर्ववर्ती शासकहरूको अति महत्वाकाङ्क्षाबाट उत्पन्न प्रत्युत्पादक घटना देख्दादेख्दै पनि त्यसतर्फ उन्मुख भएका दृष्टान्त धेरै भेटिन्छन् । यति बेला मलाई मानिस मर्छ भन्ने जान्दाजान्दै पनि मर्नुपर्छ भन्ने हेक्का नै नराखी कार्य गर्नुलाई सबैभन्दा ठूलो आश्चर्य मानिएको महाभारतको प्रसङ्ग स्मरण हुन आउँछ ।

नेपालमा शासकहरूले अति महत्वाकाङ्क्षाकै कारण आफ्नो राजपाठ गुमाएका मात्र होइनन्, वंश नै समाप्त भएका प्रशस्त उदाहरण छन् । लिच्छवि कालमा अंशुवर्मा शक्तिशाली शासकका रुपमा देखा परे । उनी वंशक्रमले राजा भएका थिएनन् । शिवदेवका ज्वाइँ (कसैले भानिज पनि भनेका छन् ।) भएकै कारण उनी सामन्त, महासामन्त हुँदै गद्दीनसीन महाराजाधिराज बन्न पुगे । उनको राज्यकाल विविध दृष्टिकोणले महत्वपूर्ण पनि मानिएको छ । तर, उनको महत्वाकाङ्क्षाकै कारण उनले आफ्नो वंश स्थापना गर्न सकेनन् । अन्ततः पुनः लिच्छवि राजकुलकै उदयदेव राजा बन्न पुगे । ठोकुवा गरेर भन्न सकिने स्थिति नभए तापनि उनीपछि उनको वंश कायम नहुनुमा उनकै महत्वाकाङ्क्षा प्रमुख कारण भएको सहजै अनुमान गर्न सकिन्छ ।

मध्यकालमा पश्चिमको खसिया मल्ल राज्य निकै शक्तिशाली थियो । तर, कालान्तरमा त्यही विशाल राज्य विखण्डन भई बाइसी र चौबीसी राज्यहरू सृजना भए । बाइसी र चौबीसी राज्यका शासकहरूमा रहेको महत्वाकाङ्क्षाकै कारण समयको कालखण्डमा यी सबै विलय हुन पुगे । कान्तिपुरका जयप्रकाश मल्लजस्ता शासककै महत्वाकाङ्क्षाका कारण उपत्यकाको मल्ल वंशकै पतन हुन पुग्यो ।

पृथ्वीनारायण शाहका छोरा बहादुर शाह बाबुजस्तै महत्वाकाङ्क्षी थिए । यसै कारण उनको दाजु, भाउजू एवम् भतिजालगायतसित सुमधुर सम्बन्ध रहेन । राजा रणबहादुर शाहको नायबी हुँदा नेपालको विजय अभियानलाई तीव्रता दिँदै गडवालसम्म पु¥याउन सफल पनि भए । यस प्रकारको सफलताबाट उनको महत्वाकाङ्क्षा झन् बढ्दै गयो । तसर्थ, चीनसँग युद्ध गर्न पनि पछाडि परेनन् । आफ्नै भाउजूलगायत समकालीन भारदारहरूलाई आफ्नो धावनमार्गबाट हटाउन उनले अनेकौँ प्रपञ्च रचे । र, यही असीमित महत्वाकाङ्क्षाकै कारण पनि नेपाल–भोट–चीन युद्ध हुन गयो । जुन युद्ध उनको अवसानको कारण बन्न पुग्यो ।

भीमसेन थापा शक्तिशाली मुख्तियार थिए । उनी सुबेदार पदबाट क्रमशः मुख्तियारसम्म बन्न पुगे । उनकै महत्वाकाङ्क्षाका कारण धेरै समकालीन भारदारहरू काटिए पनि । प्रकारान्तरले उनैको महत्वाकांक्षासमेत नेपाल–अङ्ग्रेज युद्धको एक कारण बन्न गयो । र, कालान्तरमा यही महत्वाकाङ्क्षाले उनलाई आत्महत्या गर्न बाध्य बनायो । राणा प्रधानमन्त्रीहरूले आफ्नो महत्वाकाङ्क्षालाई नियन्त्रण गर्न नसक्दा राणाशासन नै पतन भयो ।

वि.सं. २००७ पछि नेपाल नयाँ युगमा प्रवेश ग¥यो । २००७ देखि २०१५ सम्म अनेकौँ राजनीतिक अभ्यास गरिए । २०१५ सालको निर्वाचनमा नेपाली कांग्रेसले अभूतपूर्व सफलता प्राप्त ग¥यो । बीपी कोइराला नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री हुन पुगे । बीपी कोइराला महत्वाकाङ्क्षी त छँदै थिए । अझ भनौँ, उनको यही महत्वाकाङ्क्षाले नै उनलाई वास्तवमा बिपी बनाएको थियो । प्रधानमन्त्री भएपछि उनको महत्वाकाङ्क्षा अझै बढेर गयो । आफ्नै हिजोका सहयोगी विभीषण भएर निस्किए । राजा र दरबारप्रतिको दृष्टिकोण पनि समयसापेक्ष हुन सकेन । कोइरालाको जनताको शासन स्थापना गर्ने महत्वाकाङ्क्षा र राजा महेन्द्रको अनियन्त्रित शासन सञ्चालन गर्ने महत्वाकाङ्क्षाबीचको टकरावले नै २०१७ साल पुस १ गतेको राजनीतिक दुर्घटना हुन पुगेको थियो ।

तीस वर्ष लामो पञ्चायती शासन व्यवस्थालाई नै सर्वोत्कृष्ट, सक्षम र सबल व्यवस्था बनाई आफू असीम शक्तिशाली हुने दरबारको महत्वाकाङ्क्षाले नै २०४६ सालको राजनीतिक परिवर्तन ल्याउन सघाएको थियो । यस घटनाले राजाहरुको अनियन्त्रित शक्तिमाथि अंकुश लाग्न पुगेको थियो ।

वि.सं. २०४६ को आन्दोलन ‘कांग्रेस–वाम एक ठाम’ भएर सफल भयो । यी दुवैको रसायन मिलेकै कारण छिटो समय र थोरै खर्चमा २०४७ सालको संविधान पनि बन्यो । सोही संविधानअनुसार २०४८ सालमा आमनिर्वाचन भई कांग्रेसले बहुमत प्राप्त ग¥यो । गिरिजाप्रसाद कोइराला देशको प्रधानमन्त्री हुन पुगे । प्रधानमन्त्री भएपछि उनमा पनि म नै सर्वेसर्वा हुँ भन्ने शासकीय रोगले सतायो । हिजोका सहकर्मी सहयोद्धाहरू नै उनका विरोधी बन्न पुगे । नेपाली कांग्रेसको एकमना बहुमतको सरकार हुँदाहुँदै पनि कांग्रेसको आन्तरिक विवादका कारण सरकारको नीति तथा कार्यक्रम संसद््बाट पारित हुन सकेन । यस घटनालाई स्वाभाविक लोकतान्त्रिक अभ्यासका रुपमा ग्रहण गर्न कोइरालाको अहंले दिएन र उनले संसद्् विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरे । यस निर्णयबाट स्वयं कांग्रेसलाई नै ठूलो धक्का पर्न गयो भने नेपाली जनताले पनि ठूलो क्षति भोग्नुप¥यो । मुलुकको राजनीति अस्थिर बन्दै गयो भने राज्य शासनमा अनेक विकृतिलाई मलजल पुग्न गयो । अन्ततः नेपाली जनता राजनेता र राजनीतिप्रति नै उदासीन बन्न पुगे ।

वि.सं. २०४६ को जनआन्दोलनको सार तत्व र सन्देश नबुझ्दा कांग्रेस र वामपन्थी शक्तिबीच महत्वाकाङ्क्षाको टक्कर परेको थियो । यसैको फलस्वरूप परोक्षरूपमा माओवादी आन्दोलनलाई टेवा पुग्न गयो । वि.सं. २०५५ को आमनिर्वाचनमा कांग्रेसले बहुमत प्राप्त गरी क्रमशः कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवा प्रधानमन्त्री हुन पुगे । बाहिर हुँदा एक र सत्तामा पुगेपछि अनेक हुने कांग्रेसको खान्दानी रोगले पार्टीलाई आक्रान्त पा¥यो । यसै कारणले गर्दा पनि शेरबहादुर देउवाले सङ्कटकाल बढाउँदै २०५९ सालमा संसद् विघटन गरी निर्वाचनको घोषणा गरे । तर, यो निर्वाचन हुँदै भएन । राजनीतिबाट सृजित अस्थिरताको अवसर उठाई काकतालीले श्री ५ हुन पुगेका ज्ञानेन्द्रले सङ्कटकाल लगाई राज्य सञ्चालनको अधिकार आफ्नै हातमा लिए । राजा ज्ञानेन्द्रकै महत्वाकाङ्क्षाका कारण वि.सं. २०५९ देखि २०६३ सम्म अनेकौँ राजनीतिक अभ्यासका परिदृश्य देखिए । राजाकै कारण माओवादी र अन्य राजनीतिक पार्टी मिली संयुक्त जनआन्दोलन गरे । संसद्् पुनस्र्थापना भयो । र, कालान्तरमा ज्ञानेन्द्रकै महत्वाकाङ्क्षाका कारण नेपालबाट राजतन्त्रले सदाका लागि बिदा लियो ।

वि.सं. २०६२÷०६३ को आन्दोलनको सफलतापश्चात् भएको संविधानसभाको निर्वाचनमा माओवादी पहिलो राजनीतिक शक्तिका रूपमा उदय भयो । तर, तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको महत्वाकाङ्क्षाकै कारण उनी राजीनामा दिन बाध्य भए । अनेकौँ सरकार आए र गए पनि । संविधान निर्माण गर्ने क्रममा अनेक आरोह–अवरोह भयो । अन्ततः संविधानचाहिँ बन्यो । संविधानअनुसार हुने निर्वाचनमा हिजो पानी बाराबार भएका माओवादी र एमालेले सहकार्य मात्र गरेनन्, एउटै पार्टी बनाए । नेकपालाई निर्वाचनमा दुई तिहाई बहुमत पनि प्राप्त भयो । लामो समयसम्म अस्थिर राजनीतिले स्थिरता प्राप्त गर्ने सङ्केत देखा प¥यो ।

तथापि, नेपाल नयाँ युगमा प्रवेश हुने नेपाली जनताको चाहना पूरा हुन सकेन । पार्टीको आन्तरिक खिचलोका कारण मुलुकमा कोरोना रोगको महामारी हुँदा पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा तीव्र अन्तरसङ्घर्ष चर्किएर गयो । भनिन्छ कि प्रधानमन्त्री केपी ओलीको महत्वाकाङ्क्षा, अहम् र दम्भ चुलिँदै गयो । उनमा म नै सर्वेसर्वा हुँ भन्ने अहं थियो । यसकै परिणामस्वरुप उनले आफ्नै दलका नेताहरुसँगको बदला प्रतिनिधिसभा नै विघटन गरेर लिए । विरोध र नियन्त्रण नसहने अनि आफूलाई शक्तिशाली शासकका रुपमा स्थापित गर्न खोज्ने प्रधानमन्त्री ओलीको अस्वस्थ महत्वाकांक्षाले अन्ततः नेपालको राजनीतिमा राजनीतिक अस्थिरताको पुनरावृत्ति हुन गयो । यस महत्वाकाङ्क्षाको राजनीतिक परिणाम त भविष्यले बताउला तर पनि इतिहासले सिद्ध गरिसकेको छ कि यस प्रकारका अति महत्वाकांक्षी शासकहरुको पतन अवश्यम्भावी छ । यस प्रकारका घटनाले नेपालको संविधान, संघीयता र गणतन्त्रमाथि पर्न सक्ने प्रभावका बारेमा त भविष्यले नै लेखाजोखा गर्ला ।

प्रतिक्रिया दिनुहोस्