काठमाडौँदेखि रुकुमपूर्व बससेवा सञ्चालन



काठमाडौँ ।

घोडाघोडी यातायात प्रालिले काठमाडौँदेखि रुकुमपूर्व बससेवा सञ्चालन गर्ने भएको छ । घोडाघोडी यातायात प्रालि र रुकुम पूर्व/पश्चिम यातायात प्रालिको आज बसेको संयुक्त बैठकले काठमाडौँदेखि रुकुम पूर्वसम्म बससेवा सञ्चालन गर्ने निर्णय गरेको हो ।

मुस्ताङको जोमसोम, मुक्तिनाथ, म्याग्दीको दर्वाङ, बागलुङमा बससेवा सञ्चालन गरेको घोडाघोडी यातायात प्रालिले पहिलोपटक मध्यपहाडी राजमार्ग हुँदै रुकुमपूर्व बससेवा सञ्चालन गर्न लागेको हो ।

घोडाघोडी यातायात प्रालिका अध्यक्ष सुनिल कुँवरले यात्रुको चाहनालाई ध्यानमा राखेर काठमाडौँदेखि पोखरा, बागलुङ हुँदै रुकुमपूर्व बस सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । बस काठमाडौँको नयाँ बसपार्कबाट छुट्ने छन् । घोडाघोडी यातायात प्रालिमा हाल ३० बस सञ्चालनमा रहेका छन् । उक्त प्रालिका बस पृथ्वी राजमार्ग हुँदै आवतजावत गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्