साकेला सिलीमा रमाउँदै मनाईयो उधौली चाड



रामधन राई, खोटाङ ।

मंसिर–१५, माझकिरात भनेर चिनिने खोटाङका किरात राई समुदायले हर्षोल्लासका साथ उधौली चाड मनाएका छन् । अन्नवालीको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्दै मनाईंने उधौलीको अवसरमा जिल्लाका
विभिन्न स्थानमा साकेला सिली नाच्दै उधौली मनाईएको हो ।

उधौलीको अवसरमा आज वुधबार दिक्तेलवजार, मझुवागढी, रुपाकोट डाँडा लगायतका स्थानमा साकेला सिली नाचिएको किरात राई यायोक्खाका सचिव युग्सन किरातले वताउनुभयो । किरातीहरुले मंसिरे पुर्णिमामा उधौली र बैशाखे पूर्णीमामा
उभौली गरी वर्षमा दुई पटक प्रकृतिको पुजा गर्दै साकेला सिली नाच्ने संस्कृति छ ।

यो बेला जलचर तथा थलचर जीवजन्तु उधौली लाग्ने समय उधौली र उभौली लाग्ने समय उभौली मनाउने चलन रहेको किराती पुर्खाहरु सुनाउँछन् । उभौलीमा खेतीपाती राम्रो होस्, प्रकृति प्रकोप आइनपरोस लगायतका कामना गर्दै प्रकृतिको पूजा आराधना गर्ने संस्कृति छ । उधौली–उभौली आफन्तसंगको भेटघाटको अवसरको रुपमा पनि लिने गरिन्छ ।

साकेला सिली किरातीहरुले मात्र नभई सबै जातजाति तथा धर्मका समुदायले समेत नाच्ने भएकाले जातीय सहिष्णुता, एकता र भाइचाराको विकास गर्ने एउटा समृद्ध संस्कृतिको रुपमा विकास भएको किराती अगुवाहरुको भनाई छ ।

कोरोना महामारीका कारण गत वर्षहरु जस्तो यो वर्ष उधौलीलाई भव्य नवनाईएको यायोक्खाका जिल्ला सचिव किरातले जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्