ओली विरुद्ध प्रचण्ड–माधव सडकमा



SONY DSC

कृष्णउदास खनाल, वीरगन्ज ।

प्रधानमंत्री केपी शर्मा ओली बिरुद्ध पर्सा सहित दुई नम्बर प्रदेशका जिल्लाहरुमा मंगलबार प्रदर्शन गरिएको छ । संसद विघटनको विरोधमा वीरगन्जमा आज प्रचण्ड–नेपाल समुहले गरेको शक्ति प्रदर्शनका क्रममा घण्टाघर चोकमा आयोजित कोणसभालाइ सम्बोधन गर्दै केन्द्रिय सदस्य नागेन्द्र चौधरीले संसद बिघटन गरेर ओली र विद्या भण्डारीले संविधान र लोकतन्त्रको बलात्कार गरेको बताउनुभयो ।

जुन संविधान र लोकतन्त्रले प्रधानमन्त्री र राष्ट्रपति बनायो , आज ओली र भण्डारीले त्यसैको चीरहरण गरेकाले ओली र विद्या भण्डारी दुवै बलात्कारी भएको चौधरीको भनाइ थियो ।ओली र भण्डारीले नेकपा पार्टीलाइ मात्र नभइ सिंगो मुलुकलाइ नै असफल बनाउने षडयन्त्र गरेको उहाँले बताउनुभयो ।

संसद बिघटनको कदम असंवैधानिक र अलोकतान्त्रिक रहेको भन्दै पुर्वमन्त्री समेत रहेका चौधरीले संसद पुर्नस्थापना नभए सम्म सडकमै आफुहरु रहने र संसद पुर्नस्थापना भएरै छाड्ने ठोकुवा उहाले गर्नुभयो । नेकपाकी केन्द्रिय सदस्य एंव पुर्वमन्त्री उर्मिला अर्यालले संसद पुर्नस्थापनाको पक्षमा सर्वोच्च अदालतले फैसला नगरे जनता प्रधानन्यायधिशको पनि विरोधमा सडकमा उत्रिने चेतावनी दिनुभयो ।

उहाले संविधान विपरित सत्ताको आड र दबाबमा यदि न्यायलयले संसद पुर्नस्थानाको पक्षमा फैसला गरेन भने जनता प्रधानन्यायधिशको पनि विरोधमा सडकमा उत्रिने भएकाले यो कुरा प्रधानन्यायधिशले ख्याल राख्नु पर्ने अर्यालको भनाइ थियो ।उहाले न्यायलयले जनता र संविधानको पक्षमा न्याय दिने विश्वास भने आफुहरुलाइ रहेको पनि बताउनुभयो ।

संसद विघटनको विरोधमा शक्ति प्रदर्शनका लागि प्रचण्ड – नेपालले समुहले आज वीरगन्जको रामगढवा स्थित पार्टी कार्यालयबाट जुलुश निकालेको थियो । जुलुशले नगरका विभिन्न स्थानको परिक्रममा गरेको थियो । नगरपरिक्रमा पछि घण्टाघर चोकमा आयोजित कोणसभालाइ केन्द्रिय सदस्यहरु चौधरी र अर्याल , पर्सा इन्चार्ज राम चन्द्र साह , नेताहरु विचारी यादव , दिनेशराइ , शेख चाँदतारा , पुष्पा कर्ण , छाटेलाल यादव , रहबर अन्सारी , मनोज चौधरी लगायतकाले सम्बोधन गरेका थिए ।

संसद बिघटन बाध्यता : मण्डल

नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले चिनको कोशीशले पार्टी विभाजन नरोकिने बताउनु भएको छ ।पछिल्लो केहि दिन यता चिनका राजदुत र चिनीया कम्युनिष्ट पार्टीका नेताहरु काठमाण्डौमा नेकपाका शीर्ष नेताहरुलाइ भेटेर पार्टी विभाजन रोक्न सकृय रहेको प्रति इङिगत गर्दै मण्डलले नेकपा मिलाउने चीनको प्रयास र कोशीश असफल हुने दाबी गर्नुभयो ।

वीरगन्जमा मंगलबार नेकपाको केपी ओली समुहले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदेश २ का इन्चार्ज समेत रहेका मण्डलले नेकपा फुटि सकेकोले अब चीनले जति नै कोशीश गरेपनि पार्टी एक हुनै नसक्ने दाबी गर्नुभयो । चीनले नेकपा र नेपालको हितमा नभइ आफनो स्वार्थ पुर्तिका लागि अहिले नेकपाको विवादमा सकृयता देखाएको भनाइ उहाको थियो ।पार्टी विभाजनको औपचारिक सन्देश दिन वीरगन्जमा बुधबार नेकपाले पहिलो प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला आयोजना गर्न लागेको जानकारी पनि उहाँले दिनुभयो ।

भेलाले पार्टी विभाजनको औचित्य र सन्देश दिने र त्यसपछि आगामी कार्यक्रम घोषणा गरिने मण्डलले बताउनुभयो । बुधबारको भेलालाइ पार्टीका महासचिव एंव अर्थमन्त्री विष्णु पटेल , शहरी विकासमन्त्री प्रभु साह , कानुनमन्त्री लीलानाथ श्रेष्ठ , महिला तथा बालबालिकामन्त्री जुली महत्तो , स्थायी कमिटी सदस्य रघुवीर महासेठ लगायतका नेताले सम्बोधन गर्ने छन् ।भेलामा प्रदेश २ का करिब १५ हजार नेता कार्यकर्ता सहभागी हुने मण्डलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्