कोरोना भाइरस १० बर्षमा पनि समाप्त नहुने : बायोएनटेक सीइओ



लन्डन (एजेन्सी)

विश्वमा कोरोना भाइरसको नयाँ र झन खतरनाक स्ट्रेनलाई लिएर चिन्ता बढेको छ । यसबीच फाइजरसँग मिलेर कोरोना खोप विकसित गरेको कम्पनी बायोएनटेकका सीईओ उगर साहिनले कोरोना भाइरस कम्तिमा १० बर्ष सम्म समाप्त नहुने बताएका छन् ।

एक भर्चुअल प्रेस कम्फ्रेन्समा साहिनलाई भाइरस कहिले समाप्त हुन्छ र मानिसहरुको जीवन कहिले सम्ममा सामान्य हुन सक्ला भन्ने प्रश्न सोधिएको थियो । यसमा उनले भने, हामीलाई सामान्य जीवन शैलीको नयाँ परिभाषा बुझ्न आवश्यक हुन्छ । यो भाइरस आगामी १० बर्ष सम्म हामीसँगै हुनेछ ।

बेलायतमा भेटिएको भाइरसको नयाँ स्ट्रेनको हिसाबले खोपलाई ६ हप्तामा परिवर्तन गर्न सकिने पनि साहिनले बताए । उनले भने, मेसेन्जर प्रविधिको विशेषता यही हो कि हामी नयाँ म्युटेसनका हिसाबले खोपलाई त्यसैगरी इन्जिनियरिंग गर्न सक्छौं । प्रविधिका रुपमा हामी ६ हप्तामा नयाँ खोप तयार गर्न सक्छौं ।

फाइजर र बायोएनटेकको कोरोना खोपलाई अमेरिका र बेलायत लगायत ४५ भन्दा धेरै देशमा आपतकालिन प्रयोगका लागि अनुमति प्राप्त भइसकेको छ । बेलायतमा देखिएको कोरोनाको नयाँ स्ट्रेनबाट खोप प्रभावकारी बनाउनमा हुने कसर बाँकी नराख्ने पनि उनले बताए ।

बेलायतमा भाइरसको नयाँ स्ट्रेन देखिएपछि एक हप्तामा सबै भन्दा धेरैको मृत्यु भइरहेको आंकडा आइरहेको छ । प्रधानमन्त्री बोरिस जोनसनले डिसेम्बर १९ मा पहिलो स्ट्रेन भेटिएको जानकारी दिएका थिए । यो यसअघिको भाइरसभन्दा ७० प्रतिशत भन्दा धरै तिब्र फैलिन सक्ने बताइएको छ ।

भारतको केरलमा अर्को स्वरुपको भाइरस

बेलायतपछि अब भारतको केरलमा कोरोना भाइरसको नयाँ स्ट्रेन देखिएको छ । केरलको कोझिकोडमा हेल्थ डिपार्टमेन्टका तर्फबाट गराइएको सर्वेक्षणमा कोरोना भाइरसको स्ट्रेनमा परिवर्तन देखिएको हो । अब यो सर्वेक्षण पुरै केरलमा गराउने तयारीमा छ ।

केरलको स्ट्रनमा सामान्य परिवर्तन देखिएको तर यो बेलायतमा भेटिएको नयाँ स्ट्रेनजस्तो नभएको केरलका स्वास्थ्यमन्त्री केके सैलजाले बताए । नयाँ स्वरुपलाई लिएर विज्ञहरु अनुसन्धान गरिरहेका छन् ।

अमेरिकामा अस्पताल भर्ना हुनेको संख्या आकाशियो

विश्वमा कोरोना भाइरस संक्रमित ८ करोड १६ लाख नाघेको छ । यी मध्य ५ करोड ७७ लाख भन्दा धेरै ठीक भइसकेका छन । अहिलेसम्म १७ लाख ८० हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् । अमेरिकामा सोमबार मात्रै १ लाख २१ हजार भन्दा बढी नयाँ विरामी भर्ना भएको बताइएको छ ।

अमेरिकामा लगातार २७ औ दिन सम्म १ लाख भन्दा बढी विरामी भर्ना भइरहेका छन् । डिसेम्बर २५ मा पनि १ लाख १८ हजार भन्दा बढी विरामी अस्पतालमा भर्ना भएको अमेरिकी सरकारको कोविड ट्य्राकिंग प्रोजेक्टले जानकारी दिएको छ । यसबीच नोवाभ्याक्स बायोएनटेक कम्पनीले बेलायतमा देखिएको नयाँ कोरोना स्ट्रेन विरुद्ध खोपको परिक्षण थालेको छ ।

यसको शुरुमा विकसित खोपको तेस्रो चरणको परिक्षण पनि जारी छ । बेलायतमा भेटिएको कोरोनाको नयाँ वेरियन्टमा रिसर्च पुरा भइसकेको र खोपको परिक्षण पनि शुरु भइसकेको कम्पनीले जनाएको छ । यसको नतिजा आउनमा केही हप्ता लाग्न सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्