नेकपा काभ्रेको अध्यक्षमा ब्याञ्जु, सचिवमा पाण्डे, चौलागाई र वाईवा पदमुक्त



मोतीराम तिमल्सिना, काभ्रे ।

नेकपा काभ्रेको जिल्ला कमिटी बैठकले पार्टी अध्यक्ष रुकु चौलागाई र सचिव टोकबहादुर वाईवालाई पदमुक्त गर्ने निर्णय गरेको छ । चौलागाईको स्थानमा केन्द्रिय सदस्य समेत रहेका अशोक ब्याञ्जु र सचिव वाईवाको स्थानमा नारायण पाण्डेलाई जिम्मेवारी दिने निर्णय बैठकले गरेको छ । ‘कमिटीको नेतृत्व गर्नु हुने अध्यक्ष रुकु चौलागाई र सचिव टोकबहादुर वाईवाको असक्षमताका कारण पार्टीको समग्र कमिटी प्रणाली र पार्टी जीवन नै अवरुद्ध हुन पुग्यो’–बैठक पछि आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष अशोक ब्याञ्जुले भन्नुभयो–‘पार्टीको नेतृत्व गर्नुको सट्टा गुटगत गतीविधी गर्ने, बिभिन्न पार्टी परित्याग गरि नेकपामा प्रवेश गर्ने निर्धारित कार्यक्रमहरु अवरुद्ध गरि विरोधी पार्टीलाइ बल पु-याउने, फुटपरस्त गतिविधीमा सामेल हुने र गुटगत भेला आयोजना गरि पार्टी एकतालाई भाँड्ने लगायतका संगठनात्मक पद्धती विरोधी गतिविधीमा संलग्न भएका कारण जिल्ला कमिटी अध्यक्ष रुकु चौलागाई र सचिव टोक बहादुर वाईवालाई क्रमसः जिल्ला कमिटीको अध्यक्ष र सचिव पदबाट पदमुक्त गर्ने निर्णय गरिएको छ ।’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रे जिल्ला कमिटीको दोश्रो पूर्ण बैठक पार्टी केन्द्रीय कमिटी सदस्य तथा जिल्ला इन्चार्ज कमरेड गोकुल बाँस्कोटाको अध्यक्षतामा बनेपाको उग्रचण्डी होटलमा सम्पन्न भएको थियो । बैठकमा जिल्लाबाट प्रतिनिधित्व गर्नु हुने केन्द्रीय कमिटीका सदस्य र बाग्मति प्रदेश कमिटीका सदस्य उपस्थिती रहेको थियो । १ सय २६ सदस्यीय जिल्ला कमिटीमा २ जनाको निधन र एक जना बैदेशिक रोजगारमा छन् । जसमध्ये ६४ जना बैठकमा सहभागि भएको सचिव नारायण पाण्डेले बताउनु भयो ।

बैठकले पार्टी एकताको भावना र बिधान विपरित गुटबन्दी गरि बहुमत अल्पमतको आधारमा आफ्नै पार्टीको नेतृत्वको जननिर्वाचित बहुमतको सरकार ढाल्न पार्टी भित्रैबाट अविस्वासको प्रस्ताव दर्ता गर्ने कार्यप्रती खेद ब्यक्त गरेको छ । गम्भिर अवस्थामा राजनितिक अस्थिरता श्रृजना गरि मुलुकको समेत भविष्य अन्धकारतर्फ धकेल्ने पार्टी अध्यक्ष पुष्पकमल दाहाल, माधव नेपाल गुटले फैलाएको भ्रममा नपरी मुलुकको कम्युनिष्ट आन्दोलनलाई संगठित र एकताबद्ध रहन आम नेपाली जनता र सिंगो पार्टीपंक्तिमा अपील गर्ने निर्णय गरेको छ ।

नयाँ जनादेशको लागि प्रतिनिधीसभा विघटन गरि प्रतिनिधीसभाको निर्वाचनको मिति घोषणा गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयको स्वागत गर्दै सम्पूर्ण पार्टीपंक्तीलाई निर्वाचनमा केन्द्रीत हुन आव्हान गरेको अध्यक्ष अशोक ब्याञ्जुले बताउनु भयो । जिल्ला तहमा पार्टी एकता भएको करिव अढाई बर्षको अवधिसम्म जिल्ला कमिटीको एउटा पनि बैठक र कुनै पनि कार्यक्रम हुन सकेको थिएन । बैठकले काभ्रे जिल्लाबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रिय कमिटीमा मनोनित हनुभएका रामहरी सुवेदी, कुमार खकुरेल, नारायण पाण्डे, भिम न्यौपाने, कुमार थापा, अशोक ब्याञ्जु, अम्बुभवानी कार्की, नवीना लामा, रेशम लामा, चन्द्र लामा, उद्धव केसी, रिता ढकाल, रुक्मणी बराईली, प्रकाश गौतमलाई बधाई ज्ञापन गर्दै कार्यकालको सफलताको शुभकामना ब्यक्त गर्ने निर्णय गरेको छ ।

पार्टी जिल्ला कमिटीका सदस्यहरु हरिदेव गीरी र उज्वल लामा र पूर्व जिल्ला कमिटी सदस्य प्रेम सिग्देल र रामकृष्ण भण्डारीको असामयीक निधन भएकोमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गर्ने निर्णय गरेको अध्यक्ष ब्याञ्जुले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्