प्रतिनिधिसभा विघटन गरेर अस्थिरता सिर्जना गर्न खोजियो : नेता खनाल



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले जननिर्वाचित संस्था विघटन गरेर सरकारले मुलुकमा अस्थिरता सिर्जना गर्न खोजेको आरोप लगाउनुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले आज भृकुटीमण्डमा आयोजना गरेको जनप्रदर्शनलाई सम्बोधन गर्दै संसद् विघटनसँगै अस्थिरताको अर्को शृङ्खला शुरु भएको बताउनुभयो । “मुलुकको समृद्धिको बाधक बनेको अस्थिरताको प्वाललाई टाल्नुपर्ने आवश्यकता छ”, पूर्वप्रधानमन्त्री खनालले भन्नुभयो, “त्यसका लागि संसद् पुनःस्थापना अनिवार्य शर्त बनेको छ । जबसम्म संसद् पुनःस्थापना हुँदैन, त्यसबेलासम्म आन्दोलनमा रोकिँदैन ।”

जनताका भावना विपरीतका कदम सच्याउन राष्ट्रव्यापीरुपमा आन्दोलनको आँधीबेहरी सिर्जना गर्नुपर्नेमा जोड दिँदै उहाँले संविधानको सफल कार्यान्वयनमा सबै राजनीतिक दलको सहयोगको खाँचो औँल्याउनुभयो । गरीबी र अशिक्षा उन्मूलन गर्नुपर्नेमा सरकार त्यसतर्फ नलागेको उहाँले आरोप लगाउनुभयो । पार्टीभित्र आलोचना गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले नसुनेको र बैठक बहिष्कार गर्दै गई पार्टीमा समस्या देखापरेको उहाँले बताउनुभयो ।

पार्टी एकतालाई पूर्णता दिने क्रममा अध्यक्ष ओली बाधक बनेको उहाँको भनाइ थियो । पार्टी एकीकरणको बाँकी कामलाई सम्पन्न गरेर मुलुकलाई समृद्ध बनाउन सबै लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । कुनै पनि प्रधानमन्त्रीले मनखुशी प्रतिनिधिसभा विघटन गर्न विशेषाधिकार संविधानबाट हटाइसकिएको उहाँले प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्