काभ्रे कांग्रेसमा गुट मौलाउदै, आन्तरीक विवादले विरोध प्रदर्शन प्रभावित



न्युज अफ नेपाल, काभ्रे ।

नेपाल कम्युनिष्ट पार्टी भित्रको विवाद चरम उत्सर्गमा पुगिरहेको बेला प्रमुख प्रतिपक्षदल नेपाली काग्रेस भित्रको आन्तरीक विवाद पनि छताछुल्ल हुन थालेको छ । सरकारको अलोकतान्त्रीक कदमको विरोध प्रदर्शनमा समेत पार्टी भित्रको गुटबन्दी हावी भएको भन्दै काभ्रे क्षेत्र नम्बर २ का नेता कार्यकर्ताहरुले पार्टीको आयोजनामा भएको कार्यक्रम वहिस्कार समेत गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा हिजो सोमबार सबै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो । काभ्रेको दुई निर्वाचन क्षेत्र मध्य क्षेत्र नम्बर १ को भकुण्डेमा भएको विरोध प्रदर्शन भव्य भएपनि क्षेत्र नम्बर २ को बनेपामा भएको विरोध प्रदर्शन भने प्रभावकारी देखिएन । विरोध र्‍यालीमा सहभागी भएका क्षेत्र नम्बर २ का केहि प्रभावशाली नेता तथा कार्यकर्ताहरुले विरोध सभा वहिस्कार गरेका छन् ।

आफ्नै नेता तथा कार्यकर्ताहरुले कार्यक्रम वहिस्कार गरेपछि पछिल्लो समय सरकारले चालेको कदमका विरुद्ध आयोजित विरोध कार्यक्रममा प्रमुख अतिथिका रुपमा आएका केन्द्रिय सदस्य गुरुराज घिमिरे जिल्ला सभापति मधुप्रसाद आचार्य, क्षेत्रीय सभापति कञ्चन चन्द्र बादे श्रेष्ठ लगाएतका नेताहरुको भाषण सुन्नको लागि ५० जना कार्यकर्ता जुटाउन पनि काग्रेस क्षेत्रिय समितिलाई हम्य हम्य परेको देखियो । सरकार विरुद्धको कार्यक्रममा सहभागि हुन आफ्नो क्षेत्रको सबै वडाबाट आएका अगुवा कार्यकर्ताहरु विरोध सभामा किन उपस्थित नभएको भन्ने बारेमा जिज्ञासा राख्दा कार्यकर्ताहरु भन्छन– सरकार विरुद्ध होईन आफ्नै पार्टी भित्रको आन्तरीक लोकतन्त्र बलियो बनाउन लड्नु पर्ने अवस्था आयो ।

प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदम विरुद्ध बनेपामा विरोध -यालीपछि  विरोध सभा आयोजना गरिएको थियो । विरोध सभामा जिल्ला सभापति आचार्य र क्षेत्रीय सभापति बादेले आफ्ना गुटका नेताहरुलाई मात्र मञ्चमा बोलाएर बोल्न दिएपछि यो क्षेत्रका अन्य प्रभावशाली नेताहरु सुन्दरमणी आचार्य, माधव ढकाल, कुमार लामिछाने, प्रकाश थापा लगाएतका नेता तथा भातृ संगठनका नेता कार्यकर्ताहरुले विरोधसभा वहिस्कार गरेका थिए ।विरोध सभामा केन्द्रिय सदस्य गुरुराज घिमिरेको भाषण चलिरहदा सभामा एकसयको संख्यामा नेता कार्यकर्ता मात्र उपस्थित रहेका थिए ।

बनेपाको विरोध प्रदर्शन पछि भएको भएको कार्यक्रमम वहिस्कार गरेको, नेता कार्यकर्ताहरुले जिल्ला सभापति मधु आचार्य र क्षेत्रीय सभापति कञ्चन बादेले गुटवन्दी गरेको चर्चा बारे नेता सुन्दरमणी आचार्य भन्छन– तपाईले जे सुन्नु भयो त्यो सत्य हो । लोकतन्त्र खतरामा परेको बेला पार्टी भित्र आन्तरीक झगडा देखाउने कार्यप्रति आफ्नो गम्भिर आपत्ति भएको भन्दै उनले भने–काभ्रे काग्रेसभित्र आन्तरीक लोकतन्त्र खोजी गर्नुपर्ने बेला आएको छ, त्यसको नेतृत्व मैले गर्छु । अघिल्लो निर्वाचनमा प्रदेश सभा तर्फ नकपाका नेता लक्ष्मण लम्साल संग पराजित आचार्यले उल्लेख्य मत प्राप्त गरेका थिए ।

बनेपामा भएको विरोध कार्यक्रममा भातृ संगठन ट्रेड युनियन काग्रेस, सास्कृतिक संघ, जनजाती संघ लगाएतका भातृ संस्थाहरुलाई समेत उपक्षा गरिएको बताइएको छ । अघिल्लो निर्वाचनमा पुर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले नेपालकै दोस्रो बढी मत ल्याएर विजयी हुनुभएको यो क्षेत्रमा बढ्दै गएको काग्रेस भित्रको आन्तरीक झगडालाई अन्य दलहरुले समेत चासोका साथ हेरिरहेका छन् ।

क्षेत्रीय सभापति बादेलाई संविधानसभाको चुनावमा जिताउन चुनावि कमाण्डरको भुमिका निभाएका तथा अघिल्लो कार्यकाल संगठन विभागका प्रमुख समेत भएर कार्य गर्नु भएका जिल्ला नेता प्रकाश थापा, भातृ संगठनका प्रमुखहरु प्रेम शर्मा वाग्ले, हरी कर्माचार्य, रोशन लामा लगाएतका नेताहरुलाई समेत बनेपाको विरोध सभामा वेवास्ता गरिएको आरोप छ । नेविसंघका केन्द्रिय नेता समेत रहेका माधव ढकाल पनि काभ्रे क्षेत्र नम्बर २ मा काग्रेसको चरम गुटवन्दी रहेको भन्दै पार्टी भित्रको आन्तरीक लोकतन्त्र संस्थागत नगरी बाह्य लोकतन्त्र बलियो बनाउन नसकिने बताउछन् । अघिल्लो अघिवेशनमा क्षेत्रीय सभापतिमा थोरै मतले बादे संग पराजित ढकाल भन्छन– जिल्ला सभापति आचार्यले पनि सिङ्गो काग्रेसलाई भन्दा गुटलाई बलियो बनाउने गरि कार्य गर्दै आउनु भएको छ ।

दुई निर्वाचन क्षेत्र रहेको काभ्रेको निर्वाचन क्षेत्र नम्बर १ मा भने काग्रेस भित्रको आन्तरीक एकता मजवुत देखिदै गएको छ । क्षेत्रीय सभापति तिर्थ लामाको संयोजनमा भएको भकुण्डेको विरोध सभामा हजारौं काग्रेस कार्यकर्ताहरु उपस्थित भएका थिए । केन्द्रिय सदस्य शिवप्रसाद हुमागाईको प्रमुख आतित्थतामा क्षेत्र नम्बर १ को भकुण्डेमा भएको कार्यक्रममा भने काग्रेसका सबै नेताहरुको उपस्थिति रहेको थियो । यो क्षेत्रका अगुवा नेताहरु इन्द्रमणी आचार्य, तिर्थ पसखल, हर्ष लामा, ललिता किङरिङ, गणेश लामा, गोविन्द थापा, इश्वरी ओझा, दिनेश लामा, रमेश हुमागाई, कुन्साङ लामा, डिभि लामा, सलामसिंह लामा लगाएत जिल्लाकै सिनियर नेताहरुका रुपमा परिचित अनुहार हरुको उपस्थितिले क्षेत्र नम्बर १ को विरोध कार्यक्रम प्रभावकारी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्