रोनाल्डो बने ‘प्लेयर अफ द सेन्चुरी’



लन्डन, (एजेन्सी)
पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो ग्लोब सकर अवार्डअन्तर्गत ‘प्लेयर अफ द सेन्चुरी’ (शतककै उत्कृष्ट खेलाडी) बनेका छन् ।
इटालियन क्लब युभेन्टस्का खेलाडी रोनाल्डोले दुबईको अर्मानी होटलमा आइतबार राति भएको अवार्ड समारोहमा सो अवार्ड लिएका हुन् । यो अवार्ड जित्न रोनाल्डोले उनका कडा प्रतिद्वन्द्वी लियोनल मेसीलाई धेरै मतान्तरले पछि पारे । रोनाल्डोले समर्थकबाट ३८ प्रतिशत मत पाए भने मेसीले २४ प्रतिशत मात्रै मत हासिल गरे । त्यस्तै, तेस्रो र चौथो स्थानमा आएका मोहम्मद सलाह र रोनाल्डिन्होले क्रमशः २३ र १४ प्रतिशत मत प्राप्त गरेका थिए ।
३५ वर्षीय फुटबलर रोनाल्डोले स्पेन, इंग्ल्यान्ड र इटालीका घरेलु लिग तथा पोर्चुगलका लागि युरो कप २०१६ र नेसन्स कप २०१८ उपाधि जितेका छन् । २००१ देखि २०२० भित्रमा पाएको सफलताको आधारमा उनलाई विजेता चुनेको हो । ५ पटक बालन डीओर अवार्ड जितेका रोनाल्डोले भने–‘अवार्ड जितेर खुसी भएको छु । त्यतिका वर्ष खेलमा रहिरहन सजिलो छैन । म सा“च्चिकै गर्वित छु, तर टिम, महान् कोचहरू र क्लबहरूबिना यो असम्भव पनि छ ।’
यसैगरी, सोही अवार्ड समारोहमा म्यानचेस्टर सिटीका मेनेजर पेप गार्डियोलालाई उत्कृष्ट कोचको अवार्ड दिइयो । तर, उनी सो समारोहमा उपस्थित भने हुन सकेनन् । उनले स्पेन, जर्मनी र इंग्ल्यान्डका क्लबहरूलाई उपाधि दिलाएका छन् । त्यस्तै, स्पेनी ला लिगा क्लब रियल मेड्रिडलाई ‘क्लब अफ द सेन्चुरी’ (शताब्दीकै उत्कृष्ट क्लब) को अवार्ड दिइयो ।
यसैगरी, २०२० वर्षका उत्कृष्ट हुनेमा जर्मन बुन्डेसलिगा क्लब बायर्न म्युनिखले वर्चश्व बनायो । पुरुष फुटबलरको अवार्ड बायर्नका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले जिते । पोल्यान्डका खेलाडीले बायर्नलाई सो वर्ष तेहेरो उपाधि दिलाएका थिए । बायर्नकै मेनेजर हान्सी फ्लिकलाई वर्षका उत्कृष्ट कोचका रूपमा अवार्ड दिइयो । यस्तै, बायर्नले २०२० को उत्कृष्ट टिम अवार्ड जित्यो ।

प्रतिक्रिया दिनुहोस्