आलिया र सञ्जयविरुद्ध मुद्दा



बलिउड अभिनेत्री आलिया भट्ट र निर्देशक सञ्जयलीला भन्सालीविरुद्ध एक व्यक्तिले मुद्दा दायर गरेका छन्। सञ्जयलीला भन्सालीको निर्देशन र आलियाको प्रमुख भूमिकामा बन्दै गरेको गंगुबाई काठियावाडी नामक फिल्म पूरा हुन नपाउँदै आलिया र सञ्जयलाई मुद्दा परेपछि अहिले उक्त फिल्म पनि विवादमा तानिएको छ।

लेखक हुसेन जैदीले मुम्बईकोे एक चर्चित वेश्यालयकी मालिक्नी गंगुबाईको जीवनमा आधारित रहेर लेखेको किताब माफिया क्विन अफ मुम्बईमा आधारित फिल्म गंगुबाई काठियावाडीको पोस्टर तथा प्राेमो प्रकाशित भएपश्चात् आफूहरुलाई मानिसहरुले वेश्याको बच्चा भनेर प्रताडित गरेको भन्दै गंगुबाईले अपानाएका ४ बच्चामध्ये एक बाबुजी रावजी शाहले आलिया, सञ्जय तथा यसका लेखक हुसेन जैदीविरुद्ध मुद्दा हालेका हुन्।

शाहका अनुसार उक्त किताबमा गंगुबाईको वेश्यावृत्तिका बारेमा लेखिएको हिस्सा अपमानजनक भएको र उनको निजता तथा स्वाभिमानको अधिकार उल्लंघन गरेको आरोप लगाइएको छ। उनले फिल्म निर्माणमा नै रोक लगाउनुपर्ने साथै किताबको प्रकाशन तथा वितरण पनि रोक्नुपर्ने माग गरेका छन्। दैनिक भास्करको अनलाइन संस्करणमा प्रकाशित समाचारअनुसार बम्बे सिटी सिविल कोर्टमा सुनुवाई भएको उक्त मामलमा अदालतले आलिया, सञ्जय र हुसेनलाई ७ जनवरी २०२१ सम्म जवाफ दिने समय दिएको छ।

समाचारअनुसार एक महिलाको मानहानी गरेको उसको गलत छवि बनाएको तथा उसका बारेमा अभद्र सामग्री निर्माण गरेको आरोपमा आलिया, सञ्जय र हुसेनका बारेमा अर्को केस दर्ता हुने सम्भावना रहेको छ। हाल मुम्बईस्थित फिल्म सिटीमा छायांकन भइरहेको उक्त फिल्मको सेट डिजाइनिङमा साढे ६ करोड भारतीय रुपियाँ खर्च भएको समाचारमा उल्लेख छ। आफ्नै पतिले केवल ५ सयका लागि बेचिदिएपछि वेश्यावृत्तिमा लागेकी भनिएकी गंगुबाईको जीवनीमा आधारित फिल्मको सेटलाई वास्तविक रूप दिन सञ्जयले निकै मेहनत गरेका छन्।

 

 

प्रतिक्रिया दिनुहोस्