५ दिनदेखि रेडपाण्डा क्षेत्रमा डढेलो, हेलिकोप्टरबाट नियन्त्रणमा लिने प्रयास



दिलकुमार लिम्बू, ताप्लेजुङ

ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म बिहीबारदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । मन्दिरसम्मै आगो पुगेपछि सिम्रिक एयरको हेलिकोप्टरमार्फत पानी ओसारेर ढडेलो नियन्त्रणमा ल्याउने प्रयत्न भइरहेको छ ।

गत बिहीबार दिउँसोदेखि लागेको ढडेलो ५ दिनसम्ममा पनि नियन्त्रणमा नआएकोे पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामीले पाथीभराको मन्दिरचाहिँ बचाउन सक्यौं । अन्य स्थानतिर आगो फैलिने सक्ने सम्भवना छ ।’ मन्दिर परिसरसम्म पुगे पनि मन्दिरलाई आगोले असर नगरेको निर्देशक काफ्लेले जानकारी दिनुभयो ।

आगोे नियन्त्रण गर्नका लागि स्थानीय, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी साथै पाथीभरा क्षेत्र विकासका कर्मचारी ४ दिनदेखि निरन्तर लागेको निर्देशक काफ्लेले बताउनुभयो ।

पाथीभरा क्षेत्रमा सुख्खा क्षेत्र भएको कतै पनि पानीको मुहानसम्म नभएको र तीव्र गतिमा हावा चल्ने भएकाले पाँच दिनसम्ममा पनि नियन्त्रणमा लिन नसकेको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिनुभयो ।

सोमबार बिहान पाथीभरा मन्दिर परिसरसम्म आगो पुगेको हो । पाथीभरा क्षेत्रमा पानी नभएकोले नियन्त्रणमा ल्याउन नसकेपछि हेलिकोप्टरबाट पानी ओसारेर आगो नियन्त्रणमा ल्याउन लागेको महतले जानकारी दिनुभयो ।

दिन प्रतिदिन आगो नियन्त्रण हुनुको साटो आगो फैलिँदै गएपछि कुनै नियन्त्रण गर्ने उपाय नलागेपछि पानी ओसारेर आगो निभाउन हेलिकोप्टर ल्याउनुपरेको ताप्लेजुङ जिल्ला प्रशासन प्रमुख झरेन्द्र चापागाईंले बताउनुभयो ।

ठूलो क्षेत्रमा लागेको ढडेलो केही नियन्त्रणमा आए पनि तीव्र हावा चलेको समय आगो उठ्न सक्ने भएकाले पानी वा हिउँ नआएसम्म ढडेलो रुँगी रहनुपर्ने भएको चापागाईंले बताउनुभयो ।

फेदीको बस्तीदेखि करिब ३ किलोमिटर पूर्वको जंगलबाट डढेलो लाग्न शुरु भएको थियो । सयौं वर्षसम्म हुर्केका वन जंगल तथा जडीबुडी खरानी भएको हिमाली संरक्षण मञ्चका रेडपाण्डा नेटवर्कका कार्यक्रम संयोजक रमेश राईले बताउनुभयो । जैविक विविधताको ठूलो नक्सानी भएको र कति वन्यजन्तु मरे र कति भाग्न सफल भए मूल्यांकन हुन नसकेको संयोजक राईले बताउनुभयो ।

पाथीभरा क्षेत्रको ढडेलो लागेको क्षेत्र विश्वको दुर्लभ वन्यजन्तु रेडपाण्डाको बासस्थान हो । रेडपाण्डाको बासस्थानमा आगो लागेपछि अब पाथीभरा क्षेत्रमा रेडपाण्डा नपाइने अवस्था आएको राईले बताउनुभयो ।

आगो कसले लगाएको भन्ने अहिलेसम्म पत्ता नलागेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । अहिले आगो निभाउनतिर मात्र ध्यान केन्द्रित भएको र आगो नियन्त्रणमा आएपछि आगो लगाउनेको खोजीकार्य गर्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्