भूकम्पको पाँच वर्षपछि गुम्बाको शिलान्यास



नवीन लागीछाने, मनाङ
पोखरा महानगरपालिका–१२ मा रहेको पोखराकै सबैभन्दा पुरानो ‘कर्म सिद्ध’ अर्थात् मनाङ माटेपानी गुम्बाको पुनर्निर्माण शिलान्यास गरिएको छ । २०१६ सालमा निर्मित गुम्बा २०७२ सालको भूकम्पपश्चात् जीर्ण भएपछि उक्त गुम्बाको स्थानान्तरणसँगै पुनर्निर्माण हुने भएको हो ।

सो गुम्बाको शिलान्यास सोमबार एक कार्यक्रमका बीच गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले शिलान्यास गर्दै गुम्बाको ऐतिहासिक महŒव रहेको बताउनुभयो । ‘बुद्ध दर्शन’ संसारमा नयाँ सन्देश दिने माध्यम भएको उहाँको भनाइ थियो ।

‘गेरु वस्त्र, पहेंलो कपडा पहिरिएर मात्रै बुद्धत्व प्राप्त गर्न सकिँदैन’, उहाँले भन्नुभयो– ‘जीवजन्तु सबै प्राणीको कल्याण र विभेदरहित सोच र कर्म गर्नुपर्छ ।’ उहाँले बुद्धमार्गीहरुले धार्मिक आस्थाका रुपमा पूजा गर्ने गुम्बाको पुनर्निर्माण नेपाल सरकारले गर्न लागेको बताउँदै उक्त गुम्बा गुणस्तरीय र भूकम्प प्रतिरोधी बन्नुपर्ने तर्क गर्नुभयो ।

माटेपानी गुम्बा निर्माणका लागि प्रदेश सरकार र केन्द्रीय सरकारबाट पाउन सक्ने सहयोगका लागि आफूले पहलकदमी गर्ने उहाँको भनाइ थियो । उहाँले स्वदेशमै स्थापित बुद्ध दर्शनको विकास गर्नुपर्ने धारणा पनि राख्नुभयो ।

प्रमुख शेरचनले प्रदेश सांसदहरुलाई ध्यानाकर्षण गराउँदै भन्नुभयो– ‘आफ्नै देशको बुद्ध संस्कार र दर्शनलाई पाठ्यक्रममै विकास गरेर अगाडि लानुपर्छ । अझ यसको लिपिसहित शैक्षिक गुणस्तर उकास्न सकिन्छ ।’

यसैबीच शेरचनले एक फरक प्रसंगमा बोल्दै यति बेला राष्ट्रिय एकताको आवश्यकता रहेको धारणा राख्नुभयो । संसद् विघटनको विषयमा बोल्दै शेरचनले पछिल्लो समय धार्मिक क्षेत्रका व्यक्तित्वहरुसँगै राजनीतिक व्यक्तित्वहरु एकताको सूत्रमा बाँधिनुपर्ने बताउनुभएको थियो ।

त्यस्तै गुम्बाका धर्मगुरु पोर्तो गुरुङले २०१६ सालमा स्थापना भएको माटेपानी गुम्बा रहेको स्थान अझ पनि उच्च जोखिममा रहेकाले केही पछाडिको जग्गामा स्थानान्तरण गरी निर्माण गरिने बताउनुभयो ।

उहाँले तत्कालीन समयमा जीर्ण बनेको गुम्बालाई व्यवस्थापन समितिले संरक्षणका लागि विभिन्न पहल गरेको बताउँदै उक्त पहल यथेष्ट भएकाले पुनर्निर्माणका लागि नेपाल सरकारलाई नै गुहार्न परेको बताउनुभयो ।

एक रोपनी क्षेत्रफलमा निर्माण हुने ऐतिहासिक महŒव बोकेको उक्त गुम्बा पुरानै शैलीको बन्नेछ । पुनर्निर्माण प्राधिकरणका डीई इन्जिनियर सुरेन्द्र घिमिरेका अनुसार सो गुम्बाको अनुमानित लागत ६ करोड भनिए पनि निर्माणको जिम्मा पाएको रविना हेभी जेभीले १८ महिनामा सम्पन्न गर्ने गरी ४ करोड ३० लाखमा सम्झौता गरेको छ ।

प्रतिक्रिया दिनुहोस्