कांग्रेसद्वारा देशभर विरोध प्रदर्शन

सर्वोच्चले गर्ने निर्णय मान्छौं: देउवा



नेपाल समाचारपत्र, काठमाडौं
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् विघटन गर्ने सरकारको निर्णयका विरुद्ध देशभर विरोध प्रदर्शन गरेको छ । सरकारले संसद् विघटन गरेर असंवैधानिक काम गरेको भन्दै कांग्रेसले देशभर विरोध प्रदर्शन गरेको हो ।

संसद् विघटन भएपछि कांग्रेसले घोषितरुपमा सोमबार देशभरको १ सय ६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको छ । देशभर विरोध प्रदर्शन गरे पनि कांग्रेसले संसद् विघटनको विषयमा सर्वोच्च अदालतबाट हुने फैसला मान्य हुने बताएको छ ।

कांग्रेसभित्र सभापति शेरबहादुर देउवा सर्वोच्च अदालतको निर्णयअनुसार अगाडि बढ्ने रणनीतिमा रहनुभएको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल तत्काल सडक संघर्षबाटै संसद् पुनस्र्थापना हुने गरी आन्दोलन गर्नुपर्ने अडानमा रहनुभएको छ ।

पार्टीभित्रको चर्को दबाबपछि सभापति शेरबहादुर देउवा देशभर विरोधको कार्यक्रम गर्न राजी हुनुभएको थियो । अबको एक साता भने कांग्रेसले कुनै पनि आन्दोलनको कार्यक्रम घोषणा गरेको छैन । घोषित कार्यक्रमअनुसार पुस १९ गतेसम्म कुनै पनि कार्यक्रम राखिएको छैन ।

पहिलो चरणको आन्दोलनको कार्यक्रम सोमबारबाटै सकिएको छ । कांग्रेसले थप आन्दोलनको कार्यक्रम घोषणा नगर्दा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने राहत मिलेको छ ।

कांग्रेसको पौडेल समूह सडक आन्दोलनबाटै संसद् पुनस्र्थापित गर्नुपर्ने अडानमा रहे पनि सभापति देउवा भने संसद् विघटनको बारेमा सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा जे फैसला आए पनि मान्य हुने बताउनुभएको छ ।

संसद् विघटनबारे अदालतले गर्ने निर्णय आफूहरुलाई मान्य हुने बताउँदै उहाँले संसद् विघटन असंवैधानिक र अप्रजान्त्रिक कदम भएकाले आफूहरुले देशभर प्रदर्शन गरेको बताउनुभयो । सभापति देउवाले भन्नुभयो– ‘संसद् विघटनको विषय अदालतमा विचाराधीन अवस्थामा छ, यस्तो बेला धम्क्याएर, तर्साएर यो निर्णय गर भन्दैनौं ।’

संसद् विघटनको विरोधमा भक्तपुर क्षेत्र नम्बर २ मा आयोजित विरोध प्रदर्शनलाई सम्बोधन गर्दै देउवाले आफ्नो पार्टी अदालतको निर्णय मान्ने पार्टी भएको बताउनुभयो ।

‘हाम्रो इच्छाविरुद्ध होस् कि इच्छाअनुसार होस्, अदालतको निर्णय मान्छौं।’ –उहाँले भन्नुभयो । अदालतको फैसला नआउँदासम्म संसद् विघटनको विरोधमा आन्दोलन गरिराख्ने बताउँदै सभापति देउवाले अब बस्ने केन्द्रीय कार्यसमितिको बैठकले थप कार्यक्रम तय गर्न सक्ने बताउनुभयो । उहाँले संसद् विघटनको विरुद्ध अरु पार्टीसँग नभई कांग्रेस एक्लै आन्दोलनमा सहभागी हुने बताउनुभयो ।

त्यसै गरी सोमबार भएको विरोध प्रदर्शन कार्यक्रमलाई शीर्ष नेताहरुले सम्बोधन गरेका थिए । वरिष्ठ नेता पौडेलले तनहुँमा, प्रवक्ता विश्वप्रकाश शर्माले काठमाडौंमा, गुरुराज घिमिरले बनेपामा र नेता गगन थापाले नेपालगन्जको प्रदर्शन कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्