असंवैधानिक तरिकाले संसद् विघटन गर्ने ओलीको कदमले नेपालको अन्तर्राष्ट्रिय हैसियत घटाउँदै



कपिल काफ्ले, काठमाडौं

नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको प्रभावशाली टोलीले प्रधानमन्त्री ओलीको संसद् विघटन गर्ने कदमका कारण नेपालको अन्तर्राष्ट्रिय हैसियत घट्ने संकेत गरेको छ ।चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग उपमन्त्री गुओ यचैको नेतृत्वमा आइतबार नेपाल आई राष्ट्रपति विद्या भण्डारी, प्रधानममन्त्री ओली र दलका नेताहरुसँग भेटवार्ता गर्ने क्रममा त्यस प्रकारको चिन्ता प्रकट गरेको हो ।पर्सि बुधबारसम्म नेपालमा रहने गुओ टोलीले आइतबारै राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीलाई र सोमबार नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल तथा अर्का नेता झलनाथ खनाललाई भेटेको छ ।

भेटका क्रममा सो टोलीले चिनियाँ राष्ट्रपति सि जिनफिङको सन्देश भन्दै नेपालमा सिर्जित अस्थिरताका कारण भारत र अमेरिकाको चलखेल बढ्नसक्ने, नेपालको आत्मनिर्णयको हैसियत तलमाथि हुन सक्ने र त्यस अवस्थामा नेपाल र चीन दुवैलाई क्षति हुने धारणा राख्दै पुनः एकजुट हुन आग्रह गरेको नेताहरुनिकट स्रोतले जानकारी गराएका छन् ।परराष्ट्र मन्त्रालयको कुनै प्रतिनिधिलाई सहभागी नगराइएका यी सबै भेटघाटहरु पूर्णतः गोप्यरुपमा सञ्चालित छन् । चिनियाँ यस टोलीको भेटघाटमा मात्र होइन, भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखलगायतका उच्च अधिकारीसँग भएका वार्ताहरु यसरी नै गुपचुपरुपमा सम्पन्न हुने गरेका छन् ।

‘व्यक्तिगत मन्त्रणाका रुपमा हुने यस्ता वार्ता जहाँ परराष्ट्र मन्त्रालयले कुनै अभिलेख बनाउन सक्तैन, यस शैलीका कारणले मात्र पनि मुलुकको अन्तर्राष्ट्रिय छवि गिराउँछ’, वैदेशिक सम्बन्ध तथा कूटनीतिक क्षेत्रका विज्ञहरुको भनाइ छ– ‘प्रधानमन्त्री स्वयं मुलुकको अन्तर्राष्ट्रिय छवि घटाइरहेका छन्, दलका अन्य नेताहरुको पनि त्यही अभ्यास छ, अब कसबाट मुलुकको पक्षमा योगदानको अपेक्षा गर्ने?’यसैबीच अर्को छिमेकी मुलुक भारतको पनि टिप्पणी प्रकटमा आएको छ । द इकोनोमिक टाइम्समा नेपालका लागि भारतका पूर्वराजदूत रणजित रायले नेपाल सम्बन्धका विषयमा अभिव्यक्ति दिनुभएको छ– ‘ओलीको संवैधानिक ‘कु’को परिणाम निकै घातक हुने संकेत देखिइसकेको छ । सर्वोच्च अदालतले संसद् पुनस्र्थापना नगर्ने, समयमा निर्वाचन नहुने, एकपछि अर्को संवैधानिक संकट सिर्जना हुँदै जाने, संघीयता, धर्मनिरपेक्षता, गणतन्त्रजस्ता पहिल्यै सल्टिएका मुद्दा पुनः बल्झिनसक्ने सम्भावना छ । त्यसले द्वन्द्व, अशान्ति तथा दीर्घकालीन अस्थिरता सिर्जना गर्नसक्नेछ ।’

प्रधानमन्त्री ओली नेपालको हित त टाढाको कुरा, आफ्नो राजनीतिक दल नेकपाको हितभन्दा पनि आफ्नो व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिने व्यक्ति भएको टिप्पणी पनि कूटनीतिज्ञ रायको छ ।उहाँ लेख्नुहुन्छ– ‘भारतले यसबीच शृंखलाबद्धरुपमा उच्चपदस्थ पाहुना पठाएर नेपाल–भारतबीच सम्बन्ध सुधारको प्रयास गरिरह्यो । ‘रअ’का प्रमुख, सेनाका प्रमुख, विदेश सचिव, भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विगत छोटो समयमै नेपाल भ्रमणमा आए ।’

‘चिनियाँहरुले ओलीलाई समर्थन गरुन्जेल सबै ठीक थियो, तर चिनियाँको चासो उहाँको नेतृत्वको निरन्तरताभन्दा नेकपाको एकता भएकाले उहाँ भारततिर मोडिनु भएको’ भन्ने विश्लेषण पनि विदेश सम्बन्ध विज्ञ रायको छ । ओली भारततिर निकट हुन खोजेपछि नै भारतले पनि आफ्ना उच्च पदस्थ अधिकारीहरुलाई नेपाल पठाएर चिसिएको सम्बन्ध सुधार गर्न तदारुकता देखाएको हो ।‘भारतले नेपालसँगको सम्बन्धलाई प्राथमिकता दिएको, ओलीले भारत विरोधको कार्ड फ्याँकेर राजनीति गर्नखोजेको’ रायको टिप्पणी छ । आफ्नो स्वार्थका लागि मुलुकको हैसियत कमजोर भए पनि महŒव नदिने शासकका रुपमा ओली चित्रित हुनुभएकोे छ ।

पछिल्लो पटक नेपाल भ्रमणमा आउँदा भारतीय विदेश सचिवले नेपालबाट पनि भारतको भ्रमण होस् भनेर आग्रह गरेको तर परराष्ट्र मन्त्रालयले एक महिनासम्म पनि भ्रमणको मिति प्रस्ताव गरेर नपठाएको देख्दा ओली छिमेकी मुलुकसँगको सम्बन्धभन्दा हरेक मुद्दालाई आफ्नो पदका लागि प्रयोग गर्ने व्यक्ति सावित हुनुहुन्छ ।‘हामीलाई हिँड्ने सडक र कार्यालय चलाउने भवनसमेत विदेशीले बनाइदिनुपर्छ, हुँदाहुँदा हाम्रा शासक र नेतालाई नफुट, मिलेर खाऊ भन्न पनि विदेशी नै आउनुपर्छ, यस्तो अवस्थामा हाम्रो हैसियत कसरी उच्च हुन्छ?’ –एक पूर्वराजदूतको टिप्पणी छ ।

गुओ टोलीले नेकपालाई एकीकृत गर्न प्रयास गर्नुअघि पनि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले दलका नेताहरुलाई भेटेर सोही प्रयास गर्नुभएको थियो । यस प्रकारको परामर्शले मुलुकको सार्वभौमिकता र आन्तरिक सुरक्षामा गम्भीर असर पर्नसक्ने टिप्पणी गरिए तापनि प्रधानमन्त्री तथा दलका नेताहरुकै स्वीकृति लिएर आउने यस्ता परामर्शदाताहरुप्रति आपत्ति जनाउन मिल्ने ठाउँ पनि छैन । गुओ टोली कसको निमन्त्रणामा नेपाल आएको खुलेको छैन, परराष्ट्र मन्त्रालय यस विषयमा केही बोल्दैन ।

बालुवाटारस्थित चिनियाँ राजदूतावासमा बसेको गुओ टोलीलाई त्रिवि विमानस्थलमा लिन पनि राजदूत यान्छी मात्र पुगेको देखियो । चिनियाँ उपमन्त्रीलाई आगमनको स्वीकृति दिने नै भए नेपालको नियमअनुसार पाहुनाको कूटनीतिक सम्मान हुनु आवश्यक थियो । यस्ता कुरामा ध्यान नपुगेकै कारण मुलुकको हैसियतमा प्रतिकूल असर पर्ने हो ।

‘नेपालमा राजनीतिक स्थिरता होस् । समृद्धि, विकास र निर्णय प्रक्रियामा बाह्य मुलुकको हस्तक्षेप नहोस्, चीन आफ्नो सामथ्र्यले भ्याएसम्म विकास प्रक्रिया र कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने विषयमा सहकार्य गर्न प्रतिबद्ध छ’ राष्ट्रपति सिले यसरी सिकाउनुपर्ने भएपछि हाम्रा नेताहरुले मुलुकको सम्मान बढाउने सम्भावना रहेन ।

‘अस्थिर अवस्थाको लाभ लिएर बाह्य शक्तिको चलखेल बढ्ने र नेपालको भूमि प्रयोग गर्दै चीनविरुद्धको गतिविधि हुने हो कि भन्ने हाम्रो चिन्ता हो’ चिनियाँ पक्षले भनेको यस भनाइले प्रधानमन्त्री ओलीको पदलोलुपताले मुलुकलाई अपूर्व क्षति पु¥याएको प्रस्ट हुन्छ ।

चिनियाँ टोलीलाई राष्ट्रपति भण्डारीले ‘ताजा जनादेश राजनीतिक स्थायित्वका पक्षमा आउने’ जबाफ दिनुभएको बुझिएको छ । उहाँको यस दाबीले ओली पक्षले चुनाव जित्ने कुराको परोक्ष संकेत गर्दछ । यस प्रकारको दाबीले अधिनायकवादतर्फ पनि संकेत गर्दछ ।

‘आन्तरिक मामिलामा हस्तक्षेप गर्दैनौं’

नेपाल भ्रमणमा रहेको चिनियाँ उच्चस्तरीय टोलीले नेपालमा राजनीतिक भेटघाटलाई तीव्र बनाइरहेकै बेला चिनियाँ विदेश मन्त्रालयले भने नेपालको आन्तरिक मामिलामा कुनै हस्तक्षेप नगर्ने बताएको छ ।चिनियाँ विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता झाओ लिजियानले नेपालका सबै राजनीतिक दलसँग नजिक रहेर काम गर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो– ‘नेपालको आन्तरिक मामिलामा चीनले कहिल्यै हस्तक्षेप गर्ने छैन ।’

नियमित पत्रकार सम्मेलनमा चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचैको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले विभाजन भएको सत्तारूढ दल नेकपाका शीर्ष नेताहरुलाई भेटेको विषयमा सोधिएको प्रश्नमा प्रवक्ता झाओले कोरोना संकट नियन्त्रण गर्न चीनले खेल्नुपर्ने भूमिका र अन्य विषयमा कुरा गर्न प्रतिनिधि मण्डल गएको बताउनुभएको थियो ।

यसैबीच नेपाल भ्रमणमा रहेको चिनियाँ उच्चस्तरीय भ्रमण टोलीले राजनीतिक भेटघाटलाई तीव्र बनाएको छ । आइतबार काठमाडौं आइपुगेको सो टोलीले सोमबार दिनभर भेटघाटलाई तीव्र बनाएको छ ।आन्तरिक शक्ति संर्घषका कारण सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा विभाजन भएपछि नेपालमा उत्पन्न राजनीतिक संकटलाई मध्यनजर गर्दै चिनियाँ राष्ट्रपति सी जिनपिङको विशेषदूतका रुपमा चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ चेयैको नेतृत्वमा आएको उच्चस्तरीय प्रतिनिधिमण्डलले विभाजित दुवै दलका शीर्ष नेताहरुसँग भेटघाट गरेको छ ।

प्रतिनिधिमण्डलले विभाजित भएको नेकपा फेरि एक हुन सक्छ कि सक्दैन हाम्रो प्रश्न यही हो भनेर प्रश्न गर्दा नेकपाका दुवै गुटका नेताहरुले गोलमटोल जवाफ दिएपछि चिनियाँ प्रतिनिधिमण्डल सशंकित भएका थिए ।नेपाल आएपछि सो प्रतिनिधिमण्डलले पहिले राष्ट्रपति विद्या भण्डारीलाई शीतल निवासमा नै पुगेर भेटघाटको शुरुआत गरेको थियो । शीतल निवासबाट बाहिरिएपछि सो टोलीले आइतबार राति नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेपछि सोमबार माधव नेपाल, पुष्पकमल दाहाल र झलनाथ खनाललाई भेटेको थियो ।

भेटमा मिलन बिन्दु के भन्दा नेपाल, दाहाल र खनालले स्पष्ट जवाफ दिन नसकेपछि टोलीले सबै नेतालाई एकपटक सोच्न आग्रह गरेको नेकपाका एक नेताले नेपाल समाचारपत्रलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्