संसद पुनर्स्थापना गर्नेमा सर्वोच्चप्रति विश्वस्त छौं : डा. रिजाल



न्युज अफ नेपाल, भद्रपुर ।

नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा पूर्व मन्त्री डा. मिनेन्द्र रिजालर्ले प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर कम्युनिष्ट पार्टीलाई जनताले देश चलाउन दिएको पाँच बर्षको म्याण्डेडको अपमान गरेको टिप्पणी गर्नुभयो । नेपाली कांग्रेसले कम्युनिष्ट पार्टीको सर्वसत्तावाद विरुद्ध आयोजना गरेको देशव्यापी विरोध प्रदर्शनका क्रममा प्रधानमन्त्री ओली निर्वाचित झापा क्षेत्र नं ५ को क्षेत्रीय विरोध सभा दमक चोकमा सम्बोधन गर्दै यस्तो बताउँनुभएको हो ।

संविधान र लोकतन्त्रको रक्षाका लागि नेपाली कांग्रेस संघर्षका कार्यक्रमहरु लिएर सडकमा आएको उहाँको भनाइ थियो । अहिलेको संविधान र राज्य व्यवस्था आम नेपाली जनताको लामो संघर्ष र बलिदानीको उपलब्धि हो , यो उपलब्धीमाथिको कुठाराघात नेपाली कांग्रेस र आम नेपाली जनतालाई मान्य छैन, कांग्रेस चुनावबाट भाग्ने पार्टी होइन तर संविधानलाई कुल्चिएर गरिएको संसद विघटनको यो अवस्थामा पहिलो माग संसद पुर्नस्थापना नै हो उहाँले भन्नुभयो ।

अब संसद पुनस्र्थापना नगरिए संविधानको हत्या भएको ठहर हुने भन्दै सम्मानित सर्वोच्च अदालतले त्यो अवस्था आउन नदिनेमा आफूहरु विश्वस्त रहेको नेता रिजालको निष्कर्ष थियो । डा. रिजालले केपी ओली मात्रै नभएर कम्युनिष्ट पार्टीका प्रचण्ड, माधवकुमार कोही पनि अहिलेको यो दुर्भाग्यपूर्ण , अलोकतान्त्रिक कदमको साक्षी भएको तर्क गर्दै उहाँहरुको पदीय लोलुप्ताको शिकार आम नेपाली जनता हुन नसक्ने जिकीर गर्नुभयो ।

कांग्रेस झापा क्षेत्र नं ५ का सभापति ढुण्डीराज भण्डारीको सभापतित्वमा भएको सो सहभागी हुन गौरीगञ्ज, गौरादह, कमल लगायतका ठाउँबाट सयौं कार्यकर्ताहरु संसद पुनस्र्थापनाको मागसहित कम्युनिष्ट पार्टीको सर्वसत्तावादका विरुद्ध चर्को नाराबाजी गर्दै आएका थिए ।

नेपाली कांग्रेस क्षेत्र नं –२ को आयोजनामा झापाको अर्जुनधारा नगरपालिका स्थित शनिश्चरे बजार, क्षेत्र नं–१ अन्तरगत मेचीनगरको धुलाबारी, क्षेत्र नं–३ मा कचनकवलको बनियानी, क्षेत्र नं–४ मा शिवसताक्षी स्थित दुधे बजार र क्षेत्र नं–५ को दमकमा बृहद विरोध प्रदर्शन तथा विरोधसभा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्