अमेरिकाले कोरोना खोप नदिएमा सैन्य सम्झौता रद्द गर्ने डुटेर्टेको चेतावनी



मनिला (एजेन्सी) ।

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले अमेरिकालाई यदि कोरोना भाइरस विरुद्धको खोप नदिएमा सैन्य सम्झौता रद्द गर्ने धम्की दिएका छन् । कोरोना भाइरससँग लड्न अमेरिकामा विकसित नयाँ खोप आफ्ना देशका नागरिकका लागि उपलब्ध नगराएमा आफुले अमेरिकासँगको विजिटिंग फोर्सेस एग्रिमेन्टलाई रद्द गर्ने योजनालाई अगाडी बढाउने उनले बताएका छन् ।

अमेरिकासँगको सम्झौता बिल्कुल रद्द हुने स्थितिमा पुगेको र यदि उनले अनुमति नदिने हो भने अमेरिकी सेनाले उनको देश छोड्नु पर्ने डुटेर्टेले बताए । यसअघि यसै बर्ष राष्ट्रपति डुटेर्टेले अमेरिकासँगको सैन्य सम्झौता रद्द गर्न आदेश दिएका थिए तर पछि त्यसलाई ६ महिनाका लागि स्थगित गरेका थिए । उक्त सम्झौता अनुसार अमेरिकी सैनिक फिलिपिन्सको भुमिमा सैन्य अभ्यास गर्न सक्छ ।

डुटेर्टेले भने, ‘यदि अमेरिका कम्तिमा दुई करोड खोप दिन असफल भए भने उनीहरुका लागि यही राम्रो हुन्छ कि उनीहरु यहाँबाट जाउन् । खोप छैन भने यहाँ बस्ने होइन ।’

अमेरिका फिलिपिन्सलाई कोरोना खोप दिन चाहन्छ भने पनि हल्ला नगरी उपलब्ध गराउन उनले भनेका छन् । अमेरिका आफ्ना नागरिकका लागि कोरोना खोप उपलब्ध गराउन युद्धस्तरमा लागेको राष्ट्रपतिले बताए ।

राष्ट्रपतिले राष्ट्रिय खोप अभियानका प्रभारीलाई खोप खरिदका लागि पैसाको चिन्ता नगर्न भनेका छन् । अहिलेको अवस्था भनेको आपतकालिन भएकोले जे जति उपलब्ध हुन्छ त्यसलाई खरिद गर्न उनले सुझाव दिए । बेलायत र अमेरिकाले पहिले नै अनुमति दिइसकेको कोरोना भाइरस खोपलाई देशमा पनि अनुमति दिन उनले आदेश दिए ।

विगतका दिनमा राष्ट्रपति डुटेर्टेले कोरोना भाइरस मास्क सफा राख्न अनौथो निर्देशन जारी गरेका थिए । उनले जनतालाई पेट्रोलबाट आफ्नो फेस मास्कलाई संक्रमण मुक्त गर्न भनेका थिए । उनले जोड दिँदै उक्त कुरा ठट्टामा नभनेको बताएका थिए । गत हप्तामात्रै उनले पेट्रोलबाट मास्क सफा गर्न भनेका थिए तर अधिकारीहरुले त्यो ठट्टा मात्र भएको बताएका थिए ।

राष्ट्रपतिले आफ्नो पहिलेको बयानको उल्लेख गर्दै उनीहरुले (आलोचक)डुटेर्टे पागल भएको भन्ने गरेको बताए । उनले भने, यदि म पागल हो भने तपाईहरु राष्ट्रपति हुनु पर्ने हो, म होइन ।

राष्ट्रपति डुटेर्टे आफ्नो अनौथो टिक्काटिप्पणीका कारण चर्चामा आइरहेका हुन्छन् । राष्ट्रपतिको कार्यभार सम्हालेपछि डुटेर्टेले फिलिपिन्समा लागु औषध कारोबार तथा सेवन गर्ने विरुद्ध ब्यापक अभियान चलाउँदै १० औं हजारलाई मृत्युको मुखमा पुर्‍याइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्