पशुपतिको दर्शनविधि बुझाउन सके आन्तरिक पर्यटक बढ्छन् : मन्त्री ढकाल



काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकालले पशुपति क्षेत्रको दर्शन विधिका बारेमा राम्रोसँग बुझाउन सके आन्तरिक पर्यटकको सङ्ख्या पशुपतिमा बढ्ने बताउनुभएको छ । आज पशुपति क्षेत्रको निरीक्षण एवं दर्शनपछि पशुपति क्षेत्र विकास कोषका पदाधिकारी एवं कर्मचारीलाई निर्देशन दिँदै उहाँले सो क्षेत्रका पुरातात्विक सम्पदाको संरक्षण गनुपर्छ र यसबाट विश्वमै नेपालको पहिचान कायम रहन्छ भन्नुभयो। “पशुपति क्षेत्रलाई अझ सुन्दर र पवित्र बनाउन कोषका पदाधिकारी एवं कर्मचारीको भूमिका महत्वपूर्ण हुन्छ”,उहाँले भन्नुभयो ।

मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले पशुपति क्षेत्रलाई व्यवस्थित बनाउन आवश्यक सबै काम गर्न कोष लाग्नुपर्नेमा जोड दिनुभयो । फूल प्रसादका पसल व्यवस्थापन एवं तिलगङ्गाको बस्ती स्थानान्तरणका काम पनि तालिका अनुसार सम्पादन गर्न उहाँले कोषको ध्यानाकर्षण गराउनुभयो ।

पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले महत्वपूर्ण पुरातात्विक सम्पदाले भरिपूण पशुपति क्षेत्रमा प्राचीन स्मारक संरक्षण ऐन २०१३ अनुसार नै काम हुनुपर्नेमा जोड दिनुभयो । मन्त्री ढकाललाई कोषका सदस्य सचिव डा प्रदीप ढकाल, कोषाध्यक्ष डा मिलनकुमार थापा र कार्यकारी निर्देशक डा घनश्याम खतिवडा लगायतका पदाधिकारी एवं कर्मचारीले हाल भइरहेका गतिविधि एवं कोरोना महामारीले पशुपति क्षेत्रमा पारेको प्रभावका विषयमा जानकारी गराउनुभएको थियो ।

गत वर्ष चैत ११ गतेदेखि भक्तजनका लागि बन्द गरिएको पशुपतिनाथको मूल मन्दिर पुस १ गतेदेखि खुला गरिएको थियो । हाल बिहान ६ बजेदेखि दिउँसो १ बजेसम्म भक्तजनका लागि मन्दिर प्रवेश गरी दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।

मन्दिर प्रवेश गर्ने भक्तजनका लागि मास्क अनिवार्य गरिएको छ । मूल प्रवेशढोकामै स्यानिटाइजरको व्यवस्था गरिएको छ । दुई मिटरको दूरी कायम गरेर भक्तजन प्रतीक्षाका लागि उभिन गोलो घेरा बनाइएको छ । पुसका चिसोमा पनि बिहानदेखि दिउँसो १ बजेसम्म पाँच हजारसम्म भक्तजनले दर्शन गर्ने गरेका छन् ।

सोमबार र शनिबार भने दर्शनार्थीको सङ्ख्या बढ्ने गरेको छ । पुस १ गतेदेखि आजसम्म भक्तजनबाट रु आठ लाख ८६ हजार १८० भेटीस्वरुप प्राप्त भएको कोषाध्यक्ष थापाले जानकारी दिनुभयो । टिकट काटेर प्रवेश गर्ने विदेशी पर्यटकका लागि भने अवलोकनको व्यवस्था शुरु भएको छैन । अवस्था सामान्य भएपछि विदेशीका लागि पनि टिकट काटी प्रवेश गराइने कोषले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्