नदीजन्य सामग्रीमा भारतको आँखा



कृष्णउदास खनाल, वीरगन्ज

नेपालको नदीजन्य सामग्रीमा भारतीयको आँखा लाग्न थालेको छ । सशस्त्र प्रहरीले भारतीय ट्याक्टरसहित लाखौंको नदीजन्य सामग्री समातेपछि उक्त कुरा बाहिरिएको हो ।

पर्साको जगरनाथपुर गाउँपालिका–१ बिसुनपुरवास्थित औरिया खोलाबाट भारतीयले अवैधरूपमा लगिरहेको अवस्थामा बालुवासहितको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बीओपी पिडारीगुठ्ठीले बीआर२२जीबी २५९५ नम्बरको भारतीय ट्याक्टरमा बालुवा लगिरहेको अवस्थामा ट्याक्टर नियन्त्रणमा लिएको हो । पिठारीगुठ्ठीमा बरामद गरिएको बालुवाको बजार मूल्य करिब १७ लाख रुपियाँ रहेको जनाइएको छ ।

त्यस्तै, सशस्त्र प्रहरी बीओपी महादेवपट्टीले पनि भारतीय ट्याक्टरसहित बालुवा नियन्त्रणमा लिएको छ । नम्बर नखुलेको उक्त ट्याक्टरले बालुवा बोकी भन्सार छलेर भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । बरामद गरिएको बालुवाको बजार मूल्य करिब १८ लाख रुपियाँ रहेको प्रहरीले जनाएको छ ।

भन्सार छली गरेर भारततर्फ लैजान लागिएका बालुवासहितका ट्याक्टर कारबाहीका लागि प्रहरीले वीरगन्ज भन्सारमा बुझाएको छ । पर्साको भारतसँग सीमा जोडिएका नदीहरुमा भारतीय पक्षहरुले आँखा लगाउने गरेको र उनीहरुले जबरजस्ती नेपाली भू–भागमा रहेको बालुवा, ढुंगा, गिट्टीलगायतका सामान भारततर्फ लैजाने गरेको स्थानीयले बताएका छन् ।

त्यसै गरी, सशस्त्र प्रहरी भिखमपुरले विभिन्न मितिमा बरामद गरेको करिब २ लाख १३ हजार ७ सय बराबरको लत्ताकपडा, किरानाका सामान आइतबार भन्सार कार्यालयमा बुझाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्