एपीएफ र लुम्बिनी सेमिफाइनलमा



नेपाल समाचारपत्र, काठमाडौं
दाङमा जारी महिला प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा समूह ‘ए’ बाट नेपाल एपीएफ क्लब र लुम्बिनी प्रदेश सेमिफाइनलमा पुगेका छन् । आइतबार भएको खेलमा विभागीय टिम एपीएफ र लुम्बिनीले लगातार दोस्रो जित हात पार्दै अन्तिम चारमा स्थान सुरक्षित बनाएका हुन् ।

एपीएफले प्रदेश २ लाई ८ विकेटले पराजित गर्दा लुम्बिनीले कर्णाली प्रदेशलाई ९ विकेटले पराजित गरेको हो । यी दुवै टिम एक खेल खेल्नुअगावै अन्तिम चारमा पुगेका थिए । यस्तै, लगातार दोस्रो हार व्यहोरेका कर्णाली र प्रदेश–२ प्रतियोगिताबाट बाहिरिएका छन् ।

एपीएफले प्रदेश–२ ले प्रस्तुत गरेको ७३ रनको लक्ष्य १३.१ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो । एपीएफकी ओपनर ज्योति पाण्डेले ४० बलमा ४ चौकासहित सर्वाधिक ३० रनको योगदान दिइन् । त्यस्तै, सीता रानामगरले ३० बलमा १८ रन जोडिन् भने सरीता मगर ६ र इन्दु बर्मा १ रनमा नटआउट रहँदै टिमलाई विजयी बनाए । बलिङतर्फ प्रदेश २ की कविता गौतम र सरस्वती कुमारी चौधरीले १–१ विकेट लिएका थिए ।

यसअघि, देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश–२ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ७२ रन बनाएको थियो । टिमले उक्त रन बनाउने क्रममा उसका लागि अनुराधा चौधरीले सर्वाधिक १८ रन जोडिन् भने शोभा आलेले १३ रन बनाएकी थिइन् । बलिङतर्फ एपीएफकी कप्तान सीता रानामगरले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिइन् । यस्तै, टिमका लागि रेखा रावल, करुणा भण्डारी, ईश्वरी विष्ट र राजमती ऐरीले १÷१ विकेट लिएका थिए ।

यस्तै, लुम्बिनीले आइतबार भएको खेलमा कर्णाली प्रदेशलाई ९ विकेटले पराजित गर्दै दोस्रो जित हात पारेको हो । यसअघि, लुम्बिनीले प्रदेश २ लाई ९ विकेटले पराजित गरेको थियो । कर्णालीले दोस्रो खेलमा पनि राम्रो प्रदर्शन गर्न सकेन ।

लुम्बिनीका बलर कर्णालीका ब्याटसवोमेनका लागि घातक नै साबित भयो । जसले गर्दा कर्णालीले मात्र ३५ रनको साधारण लक्ष्य प्रस्तुत गर्न सक्यो । तर, सो साधारण देखिएको लक्ष्य प्राप्त गर्न पनि लुम्बिनीले एक विकेट गुमाउन पुगेको थियो । लुम्बिनीले ३.१ ओभरमा १ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।

यसअघि, खराब मौसमका कारण १३ ओभरमा छोट्याइएको खेलमा कर्णालीले टस जितेर पहिले ब्याटिङ गरेको थियो । कर्णालीले ६ विकेट गुमाउँदै ३४ रन बनाएको थियो । टिमका कोही पनि खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

दीक्षा पुरीले बनाएको ८ रन नै टिमको लागि व्यक्तिगत उच्चतम योगदान साबित भएको थियो । बलिङतर्फ लुम्बिनीका लागि सुस्मिता भुसालले २ तथा सरिता जिसी र गीता गोसार्इंले पनि १–१ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्