सुरक्षा घेराभित्र सरकारी सेवा



वासुदेव शर्मा, जाजरकोट
साविकको जिल्ला पशु सेवा कार्यालय हाल नाम परिवर्तित पशु अस्पताल तथा पशु सेवा कार्यालयले सुरक्षाको घेरा भित्रबाट सरकारी सेवा प्रवाह गरेको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटको निजी भवनमा सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बसेपछि सर्वसाधारण नागरिकलाई सेवा लिन सकस पर्दै आएको छ ।
दुर्गम र पिछडिएको जाजरकोटका अधिकांश नागरिक पशु पालन र कृषि पेशामा संलग्न छन् । ११ जना दरबन्दीका कर्मचारी र ७ जना पकेट कार्यक्रमका प्राविधिक कार्यरत रहेको पशु अस्पताल तथा पशु सेवा कार्यालयमा तीनवटा भवन सशस्त्र प्रहरीको आश्रित गुल्मले लिएपछि कर्मचारीले सहजरूपमा नागरिकलाई सेवा दिन नसकेको पशु अस्पताल तथा पशु सेवा कार्यालयका योजना शाखाका सहायक तिलक रानाले बताउनुभयो । कर्मचारीले सहज वातावरणमा सेवा दिन नसकेको र नागरिकले सेवा लिन आउँदा गेटमै सुरक्षाको बोर्ड देखेपछि सेवा लिन आउने डराउने, अल्मलिने गरेको उहाँ बताउनुहुन्छ ।
वितग दुई वर्षदेखि जनप्रतिनिधि र सरोकारवालाहरुले निर्णय गरेर देश र जनताको शान्ति सुरक्षाको पहरेदार सशस्त्र प्रहरीको गुल्म पशु अस्पताल तथा पशु सेवा कार्यालयमा स्थानान्तरण गरेपछि सेवा प्रभाकारी हुन सकेको छैन । नागरिकलाई अत्याधुनिक प्रविधिबाट सेवा दिएर पशुबाट आय–आर्जनमा वृद्धि, आत्मनिर्भर गर्ने उद्देश्यले कर्णाली प्रदेश सरकारले डिस्पेन्सरी, शल्यक्रियालगायतका सेवा सञ्चालन गर्न भवन निर्माणका लागि ३० लाख बजेट पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटमा आए पनि जमिन अभावका कारण भवन निर्माण हुन नसकेको योजना शाखा सहायक रानाको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्