मध्यपुरथिमिले थाल्यो ‘गन्तव्य अभियान’



पुष्कर बुढाथोकी, भक्तपुर
मध्यपुरथिमिलाई आकर्षक पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले मध्यपुरथिमि नगरपालिकाले ‘गन्तव्य मध्यपुर अभियान’ सञ्चालन गर्ने भएको छ ।
मध्यपुरथिमि नगरपालिकाले ओस्ला नेपालको संयोजनमा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले प्राचीन सम्पदा बस्ती रहेको मध्यपुरथिमि नगरपालिकाको ऐतिहासिक, सांस्कृतिक, धार्मिक, जीवन्त कला देखाउँदै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आउँदो जनवरी १ मा सम्पदा पदयात्रा आयोजना गर्न लागेको जानकारी दिनुभयो ।
मध्यपुरथिमि आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य हो भनेर पहिचान गराउने र यसको विश्वव्यापीरुपमा प्रचार गर्ने उद्देश्यले गत वर्ष नै यो कार्यक्रम तय गरे पनि कोरोना भाइरस महामारीका कारण रोकिएको सम्पदा पदयात्रा कार्यक्रम जनवरी १ मा गर्ने गरी तयारी पूरा गरेको बताउनुभयो ।
सम्पदा पदयात्राका क्रममा धिमे बाजा र बाँसुरी बाजाका साथमा शंखधर चोकबाट विष्णुवीर, बालकुमारी, लायकु, सिवाटोल, निगुः पुखु, इनायटोल, इन्द्रायणी, विष्णु कुण्डल, दिगुटोल, ताहाननी, चोडे महालक्ष्मीस्थान, हात्तिमहांकाल, सिद्धिकाली, चपाचो गणेश, सोङ्गा पुखु, पाटी विहार, बाहाखा बजार, गार्चा चोक, द्योः छेँ नगदेश, सिद्धि गणेश, बुद्ध विहार, विष्णुघाट, लायकु, कमल पोखरी, कालिका मन्दिर हँुदै कुमारी द्योः स्क्वायरमा पुगेर सम्पदा यात्रा समापन हुने भएको छ ।
सम्पदा यात्रामा नगरपालिकाका जनप्रतिनिधि, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी, होटल एसोसियसन हान, ट्रेकिङ एजेन्सी एसोसियसन अफ नेपाल टानका पहलमा विदेशी पर्यटक, विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकारलगायतको टोलीको सहभागिता रहने भएको छ ।
कार्यक्रमका लागि नगरपालिकाले ५ लाख ३५ हजार खर्च गर्ने र विभिन्न सांस्कृतिक झाँकीहरु प्रदर्शन गरिने ओस्ला नेपालका सचिव रोशन वज्राचार्यले जानकारी दिनुभयो ।
हातेपुस्तिका प्रकाशनका संयोजक ज्ञानराम श्रेष्ठ र शंखधर साख्वाः प्रतिष्ठानका पूर्वअध्यक्ष श्याम मानन्धरले पर्यटनको विकासमा सरोकारवाला निकायको चासो र स्थानीयको सहभागिता आवश्यक रहेको चर्चा गर्नुभयो ।
सहभागीहरुले पर्यटन विकासका लागि निजी तथा साझेदारीमा लगानी भिœयाउनुपर्ने, सार्वजनिक शौचालयदेखि होटल, क्याफे, होम स्टेको व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।
पुस १७ गते शुक्रबार ‘मौलिक कला, संस्कृति तथा सम्पदाको अनुपम गन्तव्य मध्यपुरथिमि पर्यटकीय हाते पुस्तिका’को बागमती प्रदेश सभामुख सानुकुमार श्रेष्ठ र मध्यपुरथिमिका प्रमुख श्रेष्ठले संयुक्तरुपमा विमोचन गर्दै सम्पदा यात्रा शुरु गरिने भएको छ ।
जनप्रतिनिधि आएपछि नगरपालिकाले अहिलेसम्म जीर्ण भएका ऐतिहासिक पाँच पोखरी, दुई विहार, २० ढुङ्गेधारा, २५ पाटी, आठ इनार र दुईवटा पार्क पुनर्निर्माण गरिसकेको र यहाँका सम्पदाका साथै शंखधर चोकस्थित शंखधर पार्क र बोडेको कुमारी पार्कमा घण्टौं रमाउन सकिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्