मध्यपुरथिमिलाई आकर्षक पर्यटकीय गन्तव्य बनाउन ‘गन्तव्य अभियान’



पुष्कर बुढाथोकी, भक्तपुर ।

मध्यपुरथिमिलाई आकर्षक पर्यटकीय गन्तव्य बनाउने उदेश्यले मध्यपुरथिमि नगरपालिकाले ‘गन्तव्य मध्यपुर अभियान’ संचालन गर्ने भएको छ । मध्यपुरथिमि नगरपालिकाले ओस्ला नेपालको संयोजनमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले प्राचिन सम्पदा बस्ती रहेको मध्यपुरथिमि नगरपालिकाको ऐतिहासिक, साँस्कृतिक, धार्मिक, जिवन्त कला देखाउदै पर्यटन प्रर्वद्धन गर्ने उदेश्यले आउँदो जनवरी १ मा सम्पदा पदयात्रा आयोजना गर्न लागेको जानकारी दिनुभयो ।

मध्यपुरथिमि आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य हो भनेर पहिचान गराउने र यसको विश्वव्यापी रुपमा प्रचार गर्ने उदेश्यले गत वर्ष नै यो कार्यक्रम तय गरेपनि कोरोना भाइरस महामारीका कारण रोकिएको सम्पदा पदयात्रा कार्यक्रम जनवरी १ मा गर्ने गरी तयारी पुरा गरेको बताउनुभयो ।

सम्पदा पदयात्राका क्रममा धिमे बाजा र बासुरी बाजाका साथमा शैखधर चोकबाट विष्णुबीर, बालकुमारी, लायकु, सिवाटोल, निगुः पुखु, इनायटोल, इन्द्रायणी, विष्णु कुण्डल, दिगुटोल, ताहाननी, चोडे महालक्ष्मीस्थान, हात्तिमहांकाल, सिद्धिकाली, चपाचो गणेश, सोङ्गा पुखु, पाटी बिहार, बाहाखा बजार, गार्चा चोक, द्योः छेँ नगदेश, सिद्धि गणेश, बुद्ध विहार, विष्णुघाट, लायकु, कमल पोखरी, कालिका मन्दिर हुदै कुमारी द्योः स्क्वायरमा पुगेर सम्पदा यात्रा समापन हुने भएको छ ।

सम्पदा यात्रामा नगरपालिकाका जनप्रतिनिधी, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मी, होटल एशोसियसन हान, ट्रेकिङ् एजेन्सी एशोसियसन अफ नेपाल टानका पहलमा विदेशी पर्यटक, बिभिन्न संघसंस्थाका प्रतिनिधी, पत्रकार लगायतको टोलीको सहभागिता रहने भएको छ ।

कार्यक्रमका लागि नगरपालिकाले रु. पाँच लाख ३५ हजार खर्च गर्ने र बिभिन्न साँस्कृतिक झाकीह प्रर्दशन गरिने ओस्ला नेपालका सचिव रोशन बज्राचार्यले जानकारी दिनुभयो । हाते पुस्तिका प्रकाशनका संयोजक ज्ञानराम श्रेष्ठ, शंखधर साख्वाःप्रतिष्ठानका पूर्वअध्यक्ष मानन्धर श्याम मानन्धरले पर्यटनको विकासमा सरोकारवाला निकायको चासो र स्थानीयको सहभागिता आवश्यक रहेको चर्चा गर्नुभयो ।

सहभागिहरुले पर्यटन विकासका लागि निजी तथा साझेदारीमा लगानी भित्रयाउनु पर्ने, सार्वजनिक र्शौचालयदेखि होटल, क्याफे, होम स्टेको व्यबस्था हुनुपर्नेमा जोड दिनुभयो । पुस १७ गते शुक्रबार ‘मौलिक कला, संस्कृति तथा सम्पदाको अनुपम गन्तव्य मध्यपुरथिमि पर्यटकीय हाते पुस्तिका’को वाग्मति प्रदेश सभामुख सानुकुमार श्रेष्ठ र मध्यपुरथिमिका प्रमुख श्रेष्ठले संयुक्त रुपमा बिमोचन गर्दै सम्पदा यात्रा सुरु गरिने भएको छ ।

जनप्रतिनिधी आएपछि नगरपालिकाले अहिलेसम्म जीर्ण भएका ऐतिहासिक पाँच पोखरी, दुई विहार, २० ढुङ्गेधारा, २५ पाटी, आठ इनार र दुईवटा पार्क पुर्ननिर्माण गरिसकेको र यहाँका सम्पदाका साथै शंखधर चोकस्थित शंखधर पार्क र बोडेको कुमारी पार्कमा घण्टौ रमाउन सकिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्