बिच्छीको विषबाट मालामाल



कायरो, (एजेन्सी)

धेरै वर्षअघि पुरातत्व विषयको अध्ययन बीचमै छाडेर मोहमद हाम्दी बोस्ता इजिप्टका मरुभूमि र समुद्री तटमा बिच्छीको खोजमा एकहोरिएर लागेका थिए । उनको उद्देश्य बिच्छीबाट औषधि बनाउन आवश्यक विष निकाल्नु थियो । अहिले भर्खर २५ वर्षका ती युवा ‘कायरो भेनम’ कम्पनीको एकल मालिक बन्न सफल भएका छन् ।

विष निकाल्ने प्रयोजनका लागि मोहमदले इजिप्टभरिका विभिन्न स्थानमा सञ्चालित फार्ममा करिब ८० हजारको संख्यामा बिच्छी र सर्प पालेका छन् । रंगीन युभी लाइट प्रयोग गरेर समाइने बिच्छीलाई सानो विद्युतीय झट्का दिएर उत्तेजित पारी विष निकाल्न लगाइने गरिएको छ ।

यसको एक ग्राम विषबाट २० देखि ५० हजार एन्टिभेनम खोप तयार गर्न सकिन्छ । अन्तर्राष्ट्रिय बजारमा एक ग्राम बिच्छीको विषको प्रचलित मूल्य १० हजार अमेरिकी डलर रहेको छ । मोहमदले विष युरोप र संयुक्त राज्य अमेरिकामा निर्यात गर्दै आएका छन् । यसबाट त्यहाँ एन्टिभेनम र अन्य औषधिहरू बनाइने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्